काठमाडौं– श्रीलंकाको राजधानी कोलम्बोमा कन्फेडेरेशन अफ एशियन जर्नालिस्ट युनियन्स (काजु)को औपचारिक घोषणा गरिएको छ । कन्फेडेरेशनमा प्राथमिक रूपमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकारको प्रतिनिधित्व छ ।
सन् १९७० को दशकको प्रारम्भतिर पुराना श्रीलंकाली पत्रकार डिएफ कारियाकार्वानाको पहलमा स्थापित सो संस्थाले यस क्षेत्रका पत्रकारले सामना गरिरहेका साझा विषयलाई सम्बोधन गर्ने उद्देश्य बोकेको छ । नवनियुक्त अध्यक्ष मुदिता कारियाकार्वानाले कन्फेडेरेशनका सदस्यहरू संस्थालाई दक्षिण एशियाली पत्रकारको साझा मञ्च बनाउन प्रतिबद्ध रहेको बताए ।
उद्घाटन बैठकमा कन्फेडेरेशनका नवनियुक्त महासचिव तथा भारतीय पत्रकार परमानन्द पाण्डेले यस क्षेत्रका पत्रकारको चुनौती समान रहेको बताए । कन्फेडेरेशनका नवनियुक्त उपाध्यक्ष नेपालका सिलवालले दक्षिण एशियाका पत्रकारको समस्या समान रहेकाले समाधानका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रोजगारी सुनिश्चितताको अभाव र हचुवा बर्खास्तगीलाई यस क्षेत्रका पत्रकारको साझा समस्याका रूपमा चित्रण गरिएकोे थियो ।
सार्क मुलुकका पत्रकारको संगठन सो कन्फेडेरेशन पूर्ण सञ्चालनमा आएपछि हरेक मुलुकमा शाखा खुल्ने उपमहासचिव कुरुलु कोजाना कारिवाकार्वानाद्वारा जारी विज्ञप्तिमा बताइएको छ । प्रमुख संरक्षक कलाकिर्थी इड्विन आरियादाशा श्रीलंका र संरक्षक विभी मल्लिकार्जुना (भारत) रहेको काजुमा कार्यकारी उपाध्यक्ष हेमन्त तिवारी भारत, उपाध्यक्ष शकिल यामिन कंगा (पाकिस्तान), सहसचिव सिद्धार्थ कलहान्स (भारत), प्रमुख संयोजक मदन गौडा (भारत), कोषाध्यक्ष शिवानन्द थागुर (भारत) हुनुहुन्छ । त्यसैगरी भारतस्थित व्यवस्थापन सचिव गीतिका तालुकदार, श्रीलङ्कास्थित व्यवस्थापन सचिव केलुम बन्दारा, पाकिस्तानस्थित व्यवस्थापन सचिव डारा जाफर र नेपालस्थित व्यवस्थापन सचिव हिमाल घिमिरे रहेका छन् ।
यसअघि लेखक तथा पत्रकार सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको राजधानी कोलम्बोमा सार्वजनिक गरिएको थियो । श्रीलंका संसद्का सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एशोसिएशन (एसएलपिए)का अध्यक्ष कारियाकार्वाना र इन्डियन फेडरेशन अफ वर्किङ जर्नालिष्ट (आइएफडब्लुजे)का अध्यक्ष बिभी मल्ल्किार्जुनाले एसएलपिएको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमम पुस्तक संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६ ०७:५३