काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न पाउने भएका छन् ।
चलचित्र विकास बोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा कलाकारहरूले भिआइपी कक्ष प्रयोग गर्न पाउने भएका हुन् ।
बोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किँदा विशिष्ट श्रेणीका कलाकारलाई भिआइपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।
विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बास्कोटालगायत रहेका छन् ।
बोर्डको पत्राचारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । विसं २०७३ मा बोर्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ १८:४९