सीमाका कारण नेपाल र भारतबीच सधैँ मनमुटाब हुँदै आएको छ । भारतले सधैँ सीमा मिचिरहने तर नेपालीहरू त्यसको विरोध गर्ने काम भइरहेको छ । नेपालीहरूले जत्तिसकै विरोध गरे पनि यसको सुनुवाइ हुने गरेको छ । भारतले नेपाली सीमा मिचेपछि केही दिन नेपाली उफ्रिरहने तर सरकारको तहबाट केही पहल नभएपछि त्यत्तिकै सेलाउँदै आएको छ । आजसम्म भारतले मिचेको नेपाल भूमि फिर्ता गरेकोे इतिहास नै छैन । तर, पनि नेपालीहरू आफ्नो भूमिको पक्षमा बोल्दै आएका छन् । तर, दुर्भाग्य नेपाली नेताहरू भने भारत सामु हड्डी कुरेझैँ गरी आफूलाई सत्तामा चढाउन बिन्ति गरिरहेका छन् । भारतको सामु बोल्न नसक्ने नामर्द ठूला दलका नेताहरूका कारण नेपाल भन्ने नक्सा कुनै दिन भारतमा विलय हुन बेर नलाग्ने भएको छ ।
बेलायतबाट स्वतन्त्र भएसँगै भारतले नेपाली भूमिमाथि धावा बोल्दै आएको छ । उसले केही नेपाली ठूला नेता, केही ठूला कर्मचारी र नेपाली पत्रकारहरूलाई किनेर नै नेपालमा आफ्नो दादागिरी चलाइरहेको छ । नेपाली भूमिमाथि अनेकौँ तरिकाले मिच्ने काम भारतले छाडेको छैन । रातारात दशगजा क्षेत्रको सीमा नेपालतिर सार्ने, नेपाली भूमिमा सिधै क्याम्प बनाउने काम गरिरहेको छ । नेपालीहरूले विरोध गरेको अवस्थामा गोली नै हानेर मार्ने काम पनि भइरहेको छ । केही वर्षअघि भारतले नेपाली सीमा मिचेको भनेर विरोध गर्ने क्रममा पश्चिममा गोविन्द गौतममाथि गोली हानेर हत्या गरियो । यसको क्षतिपूर्ति अन्ततः नेपालले नै दिनुपरेको थियो । सो सीमा सारिएको छैन, अझै भारतले नेपाली भूमिमाथि कब्जा जमाएकै छ । नेता, कर्मचारी र पत्रकारहरू बिक्दा अन्ततः भारतले नेपालमाथि बलात्कार गरिरहँदा पनि उनीहरू रमिते भएर बसेका छन् । भारतको गुलामीमा ध्यान दिने नेताहरू सरकारमा पुग्न । पुग्नेबित्तिकै भारतको तलुवा चाट्नसम्म अघि सर्दै आएका छन् ।
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नका लागि कुरा गर्न सक्दैन । सरकारले सर्वदलीय बैठकको नाटक गरेको छ । तर, उसले भारतसँग बोल्नै सक्दैन । तर, उसैले चुनावताका भारतलाई गाली गर्न पछि पर्दैन । सर्वदलीय बैठकले कूटनीतिक पहल गर्ने निर्णय गरेको छ । तर, के नेपाल सरकारले भारतसँग सीमा मिचिएको कुरा गर्न सक्ला ? सक्दैन, किनभने उ भारतकै कारण सरकारमा अडिएको छ । भारतले चाहने हो भने अहिले नै सरकार उडाउने हैसियत राख्छ, नेपाली नेताहरूमा राष्ट्रप्रति माया छैन, सत्ता पाए पुग्छ । नेपाल सार्वभौम मुलुक हो, नेपाल पनि भारतझैँ एक मुलुक भएकाले आफ्नो सीमा मिचिएको कुरा राख्ने हैसियत राख्न सक्नुपर्छ । भारतलाई सीमा छाडेर जान भन्न सक्नुपर्छ । यसका लागि आजबाट नै वार्ता गर्न सक्नुपर्छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६ ०८:१४