काठमाडौं-चिनी अभाव नहुने उत्पादक संघले जनाएको छ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा चिनीको अभाव नहुने चिनी उत्पादक संघले जनाएको हो ।
चिनी उद्योगी तथा व्यवसायीसँग पर्याप्त मात्रामा चिनी मौज्दात रहेको संघको भनाइ छ ।चिनी उत्पादक सङ्घको तथ्याङ्कानुसार नेपालमा वार्षिक दुई लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहेकामा आधा नेपालकै उत्पादनले पुग्दै आएको छ । नेपालमा १० चिनी उद्योगले चिनी उत्पादन गर्दै आएका छन् ।
स्वदेशी उद्योगले मात्रै वार्षिक एक लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने गरेकाले भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने संघले जनाएको छ ।
संघको तथ्याङ्कानुसार चालु आर्थिक वर्षमा मात्रै नेपालका चिनी उद्योगले तीन लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन् । स्वदेशी चिनी उत्पादनसँगै चालु आर्थिक वर्षको १० महिनामा नेपालले विभिन्न देशबाट रु चार अर्ब ८३ करोडभन्दा बढीको चिनी आयात गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ १३:०७