काठमाडाैं - नेपाल ओलम्पियन संघले ओलम्पिक डेका अवसरमा ओलम्पियन पुनर्मिलन गर्ने भएको छ । शुक्रबार प्रेश सम्मेलनको आयोजना गर्दै संघले आषाढ ७ गते अहिले सम्म जो भौतिक रुपमा रहेका ओलम्पियनहरु छन् तिनको भेला गराई पुनर्मिलन गर्ने जनाएको हो ।
नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थिती जनाएको थियो । संघले सो बेला देखि २०२० मा टोकियोमा आयोजना भएको ओलम्पिक सम्मका ओलम्पियनहरुको पुनर्मिलन गर्न लागेको हो ।
ओलम्पियनहरु आआफ्नो कार्य ब्यस्तताका कारण सबै सधैँ एकै ठाउमा भेला हुन नसक्ने अवस्था रहेकोले भातृत्व र आत्मियता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको संघका अध्यक्ष दीपक विष्टले जानकारी गराए ।
विष्टले विदेशमा रहेका ओलम्पियनहरुलाई पनि उक्त कार्यक्रममा सहभागि गराउन प्रत्यक्ष प्रशारणमार्फत समेट्ने प्रयास रहेको बताए । सो अवसरमा अग्रजलाई सम्मान गर्ने र दिगंवत ओलम्पियनहरुलाई पनि उक्त दिन बिशेष सम्झना गर्ने अध्यक्ष विष्टले बताए ।
संघले ओलम्पिक डे का अवसरमा अन्य कार्यक्रमलाई पनि अगाडी सारेको छ । जसमा २०७९ आषाढ ५ गते ओलम्पियन संघ र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघविच टेबल टेनिस, ६ गते ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चविच मैत्रीपूर्ण फुटबल, ८ गते स्कुल टु ओलम्पिक कार्यक्रम अन्तरगत विभिन्न स्कुलका बिद्यार्थी र ओलम्पियनविच अन्तरकृया कार्यक्रम र ९ गते ओलम्पिक डे मनाउन कार्यक्र रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ १४:५५