काठमाडौं - सप्तरी जिल्लाको हनुमाननगरबाट करौडौं रुपैँया बराबरको मालवाहक ट्रक सामानसहित प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान करिब ७ बजेको समयमा हनुमाननगरको कंकालिनी नगरपालिका वडा नं १मा कोशी ब्यारेजस्थित पूर्वबाट पश्चिमतर्फबाट आउँदै गरेका यूपि ७५ एम ३६९५नं.को भारतीय मालवाहक ट्रकलाई शंका लागि चेक गर्दा खटिएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको सात जनाको मोबाइल टोलीले कागजपत्र नभएको सामानसहित पक्राउ गरेको हो ।
चेक जाँच गर्दा आवश्यक कागजपत्र नभएको ५७ लाख ७० हजार ८०० बराबरको रिफाईन्ड पाल्मोलियन आयल १५०० टिन र उक्त ट्रकको अनुमानित मूल्य रु ५५ लाख गरी कुल रकम एक करोड १२ लाख ७० हजार ८०० बराबरको सामान बरामद गरेको छ ।
भारतको कानपुर देहात घर भएका ३० वर्षिय ट्रक चालक र २३ वर्षे सहचालक धिरजकुमारलाई नियन्त्रणमा लिइएको इलाका प्रहरीले जनाएको छ ।
प्रहरी टोलीकाअनुसार उनीहरुलाई थप आवश्यक कारवाहीका लागि भन्सार बुझाउन सोही दिन ३ बजे पठाइएको जनाएकाे छ ।
मधेश प्रदेशका प्रमुख डिआइजी गणेश ठाडामगरका अनुसार बरामद भएको मालसामानकाे भन्सार मूल्य रु एक कराेड ९ लाख ९६ हजार कायम छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९ १८:४८