काठमाडौं– भनिन्छ, पछिल्लो समय नेपाली फिल्म एक साता हलमा टिक्दैन । तर, यहीबेला केही फिल्मले पनि ५१औँ दिनसम्म लगातार दर्शक पाउँदै आएका छन् ।
यस्तै, रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी–३’ले सफतापूर्वक ५१औँ दिनको यात्रा पार गरेको छ । यो फिल्म गत ३ असोजमा प्रदर्शनमा आएको हो । यो फिल्म अझै केही हलमा चलिरहेको छ । यो फिल्मले शनिबारसम्म राजधानीका पाँच हलमा प्रदर्शनको ५१ दिन मनाएको हो ।
बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा फिल्मले प्रदर्शनको ५१औंँ दिन मनाएको निर्माणपक्षले जनाएको छ । वितरक कम्पनी स्टेशन फाइभले फिल्मले ५१ दिनसम्ममा १४ करोड ग्रसको आँकडा नाघेको बताएको छ ।
‘कबड्डी–३’ यस वर्ष ५१ दिन मनाउने तेस्रो फिल्म बनेको छ । यसअघि ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ले ५१ दिन मनाउन सफल भएका थिए । ‘कबड्डी–३’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरूको अभिनय छ ।