टोकियो– सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय जुलुस आइतबार सम्पन्न भएको छ । गद्दी आरोहण कै प्रक्रियान्तर्गत जापानी राज परम्पराअनुसार हुने कवाजसहितको जुलुस दरबारबाट करिब ४.६ किलोतमिटरको दुरी पार गरी राजदम्पतिको निवासमा पुगी सम्पन्न भएको हो ।
आइतबारको कार्यक्रममा हजारौँ नागरिकले राजदम्पतिलाई अभिनन्दन गरेका दृश्यहरू जापानी टेलिभिजन एनएचकेले प्रत्यक्ष देखाएको थियो । समारोहमा प्रधानमन्त्री सिन्जो आवे, राजकुमार अकिसिनोलगायतका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
सहरका सडकका दुई किनारामा बसेका नागरिकले राजदम्पतिलाई अभिनन्दन गर्न पाउँदा निकै खुशी देखिएका थिए । राजकीय जुलुसमा नागरिकद्वारा राजदम्पतिलार्ई स्वागत गर्ने जापानी परम्परा हो । यससँगै गद्दी आरोहणका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।
राजगद्दी आरोहणका अन्य औपचारिक कार्यक्रम यस पहिले नै सम्पन्न भइसके पनि जापानमा करिब ८० जनाको ज्यान जानेगरी गत महिना आएको आँधीका कारण परेड तथा राजकीय जुलुस स्थगित गरिएको थियो ।शनिबार राति राजदरबारमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । २० हजार पाहुनालाई आमन्त्रण गरिएको कार्यक्रममा २६ हजार दर्शक सहभागी भएका थिए ।