काठमाडौं- सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु १९ करोड ४५ लाख छ हजार ९७९ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजना बापत रु एक करोड ९१ लाख ३१ हजार १०६ दाबी भुक्तानी दिएको हो ।
आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका परिवारलाई रु तीन करोड तीन लाख ६६ हजार ३९३ र वृद्ध अवस्था सुरक्षा योजना बापत १७ हजार ७७२ योगदानकर्तालाई रु एक अर्ब १९ करोड १३ लाख १८ हजार ५७० भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले योगदानकर्तालाई चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ ।
विसं २०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो । रोजगारदाताका तर्फबाट २० र श्रमिकको ११ प्रतिशत गरी २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । त्यसरी जम्मा गरिएको योगदान रकममध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, एक दशमलव चार प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, सुन्ना दशमलव २७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८ दशमलव ३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ ।
वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको २८ दशमलव ३३ प्रतिशतमध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा आठ दशमलव ३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ । निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्नेछन् । कोषमा हालसम्म रु १८ अर्ब ८३ करोड योगदान रकम सङ्कलन भएको छ । जेठ मसान्तसम्म कोषमा तीन लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन् । सो अवधिमा १७ हजार १३० रोजगारदाता आबद्ध भएको कोषले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ४, २०७९ १४:१६