इस्लामावाद– केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि सोमबार लन्डन जाने भएका छन् । सरिफको स्वास्थ्यस्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो ।
स्रोतले भनेको छ, ‘नवाज सरिफ ११ नोभेम्बर सोमबारका दिन लन्डन उड्नुहुने भएको छ ।’ उनी यही २७ नोभेम्बरमा फर्किनेसमेत तय भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उनको अवस्था नाजुक रहेको निष्कर्ष निकालेको सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । उनले भने, ‘हरेक पाकिस्तानीले आफूले चाहेको ठाउ“मा उपचार गर्न पाउनु उनीहरूको अधिकार हो, त्यसैले पूर्वप्रधानमन्त्री सरिफलाई पनि विदेश उपचारका लागि सरकारका तर्फबाट कुनै रोकतोक छैन ।’
उनका धेरै विषय अदालतको आदेशका आधारमा हुने भएकाले उनी कहिले जाने र कहिले आउने भन्ने कुरा पनि त्यसैमा निर्भर हुने नइमले बताएका छन् । ‘पूर्वप्रधानमन्त्री सरिफलाई कतिपटक र कति लामो समय उपचारका लागि विदेश जान दिने भन्ने कुरा अदालतले निर्णय गर्नेछ,’ उनले पत्रकारहरूसँग भने ।
भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वदेशकै अस्पतालमा केही दिन उपचारपछि उनलाई केही दिनदेखि जाटी उम्रस्थित निवासमै राखेर उपचार गरिएको छ । निवासमा उपचारका लागि उनलाई चिकित्सकहरूको टोली र अति विशिष्ट कक्ष (आइसियु) को व्यवस्था गरिएको थियो ।
पाकिस्तानी सञ्चार माध्यमहरूका अनुसार ६९ वर्षीय सरिफस“गै उनका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ जाने छन् ।