पछिल्लो समय मानव-वन्यजन्तु दरलाग्दो बन्दै गएको छ । तनहुँमा पछिल्लो तीन वर्षमा चितुवाको आक्रमणबाट ११ जना बालबालिकाको मृत्यु भएको छ । हरेक महिनाजसो चितुवा आक्रमणका घटना भइरहेका छन् । जसबाट बालबालिकाको मृत्यु र घाइते हुने क्रम बढ्दो छ । चितुवाको निशानामा प्रायः बालबालिका परेको देखिन्छ । आक्रमण गर्न सजिलो हुने भएका कारण बालबालिका चितुवाको नजरमा पर्छन् ।
चितवन राष्ट्रिय निकुञ्जभित्र चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाको मृत्यु भइसकेको छ । गैँडाको आक्रमणबाट छ र जंगली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ । गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणमा चितवनमा १२ जनाको मृत्यु भएको थियो ।
बर्दियाको हालत पनि उस्तै छ । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।यसले के देखाउँछ भने मानव-वन्यजन्तु द्वन्द्व दिनदिनै बढिरहेको छ । उसो त, वन्यजन्तुको आक्रमणमा मानिस पर्ने मात्र होइन, मानिसको आक्रमणबाट पनि बाघ, चितुवा, गैँडालगायतका वन्यजन्तुको मृत्यु भइरहेको छ । तर, मानवमाथि हुने आक्रमण धेरै रहेको तथ्यांक छ ।
वन्यजन्तुको बासस्थान क्षेत्र खुम्चिनु, वन्यजन्तुको आहारामा कमी आउनु, वनमा डढेलो लाग्नु, क्षयीकरण हुनु, संरक्षित क्षेत्रमा जैविक मार्ग सहज नहुनु र मानिसको बदलाको भावनाका कारण मानव-वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको देखिन्छ । चितुवाको आहारा प्रजातिका मृग, बँदेल, खरायो, वन कुखुरा आदि जंगलमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गर्ने र मानिसलाई आक्रमण गर्ने घटना बढेका छन् । खेतीयोग्य जमिन बाँझै राख्ने प्रवृत्ति र बढ्दो सहरीकरणको असर पनि यसमा जोडिएको छ ।
जंगलमा पानीका स्रोत सुक्दै जानु, पानी र आहाराको खोजीमा मृग गाउँ पस्दा चितुवा त्यसकै पछि लागेर आउनुजस्ता कारणले पनि चितुवाले मानिसलाई आक्रण गर्न थालेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउँछन् ।वनजंगल मासिएसँगै चितुवाको वासस्थानमा पनि संकट पैदा भएको छ । वनजंगल छेउका खेतबारी बस्तीमा परिणत भएपछि जंगलबाट बाहिर आउने चितुवा सीधै बस्तीमा पुग्न थालेको छ । विकासका नाममा जताततै सडक बन्नु, त्यसले जंगलभित्रै चितुवा हिँड्ने बाटोलाई तोड्नु आदि कारण पनि यो अवस्थासँग जोडिएको विज्ञहरू बताउँछन् ।
अन्य जंगली जनावर घट्दै जानु, वस्तीनजिक जंगल र झाडी बढ्दै जानुजस्ता कारणले चितुवालाई मानिसमाथि आक्रमण गर्न सहज वातावरण बनेको छ । पहाडी क्षेत्रमा मानिस बसाइ सरेर बजार क्षेत्र वा तराईमा झर्ने गरेका कारण त्यहाँ रहेको जग्गा जमिन बाँझो हुने गर्छ । जमिन लामो समयसम्म बाँझो रहँदा त्यो जंगलमा परिणत हुन्छ । त्यसले पनि वन्यजन्तु र मानव द्वन्द्व बढाउने गरेको छ ।
घरछेउ खुला स्थान राख्ने, झाडी मास्ने र घरबाहिर पनि बत्ती बाल्ने गर्दा वन्यजन्तुकोे आक्रमणबाट बच्न सकिन्छ । जंगल जाँदा हामीले पनि सचेतना अपनाउँदा पनि आक्रमणबाट बच्न सकिन्छ । वन्यजन्तु त्यहाँ छ, छैन भन्ने ख्याल गर्नुपर्छ । जस्तो पाइला, गन्धलगायतका संकेतलाई ख्याल गरेर गयौं भने आक्रमणमा पर्ने सम्भावना कम हुन्छ ।
जसरी बाघ, चितुवाजस्ता वन्यजन्तुको संख्या बढिरहेको छ त्यसरी नै आक्रमणका घटना पनि बढिरहेका छन् । वातावरण र पर्यावरण जोगाइराख्न यस्ता वन्यजन्तुको संख्या बढ्नु राम्रो हो । तर, सँगसँगै यसबाट हुने जोखिमलाई पनि ख्याल गर्नुपर्छ । मानव-वन्यजन्तु द्वन्द्व कम गर्न प्रभावकारी कदम चाल्न आवश्यक छ । कतिपय घटना मानवीय क्रियाकलापबाट सिर्जित कारणले हुने भएकाले त्यसमा पनि ध्यान दिनुपर्छ ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १४:४६