सङ्खुवासभा- लगातार वर्षाका कारण पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ ।
मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए।
अहिले गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । पहिराले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए।
पहिराले मकालु ५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ । पहिराले पुल आसपासको भू–भाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उनले बताए । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ १०:३७