काठमाडौं- काठमाडौं महानगरपालिका–२९, रानीबारीका २३ वर्षीय आरस तुलाधार कामको खोजीमा थिए । व्यवस्थापन संकायमा स्नातक पढिरहेका उनी पढाइ सँगसँगै काम गर्न चाहन्थे । बुवा बिजुलीको काम गर्थे । घरको आयस्रोत कम थियो । त्यसैले पनि आरस कामको खोजी थिए ।
उनले एक दिन कुनै अनलाइन जब साइटमा एउटा कल सेन्टरका लागि कर्मचारी आवश्यक परेको व्यहरोसहितको सूचना भेट्टाए । उनले आवेदन दिए । कम्पनीको कार्यालयमा पुगेर कामका विषयमा बुझे । संयोगले उनी छनोट पनि भए । आरस मासिक २० हजार तलब पाउनेगरी काममा जोडिए । घरमा आइटी कम्पनीमा काम थालेको बताउने आरस जागिर सुरु गरेको १२ दिनमै पक्राउ परेपछि भने नेपाली भूमि प्रयोग गरेर भइरहेको ‘साइबर अपराध’को गुत्थी खुल्यो । आरस मात्र होइन उनीसहित १३ जना नेपाल प्रहरीको साइबर ब्यूरोको फन्दामा परे ।
साइबार ब्यूरोको टोलीले उनीहरूलाई काठमाडौंको सामाखुसी र धुम्बाराहीबाट शुक्रबार बिहान ३ बजेतिर पक्राउ गर्यो । नेपालमा कल सेन्टर स्थापना गरेर विदेशी नागरिकलाई हैरानी दिने, ठगी गर्नेलगायतका काम भइरहेको प्रहरी अनुसन्धानकै क्लुबाट साइबर ब्यूरोको टोली यी व्यक्तिसम्म पुगेको थियो ।छोरा पक्राउ परेपछि आरसका बुवा एक जना सहयोगीसहित आइतबार भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालय पुगेर छोराको कसूरबारे प्रहरीस“ग बुझिरहेका थिए ।
आरसलगायत उनी कार्यरत कार्यालयको सबै टोली सूचना प्रविधिको दुरुपोग गरी विदेशी नागरिकलाई हैरानी दिने र ठगी गर्ने कार्यमा संलग्न रहेको सुनेपछि उनी अक्क न बक्क भए । आइटी कम्पनीमा काम पाएको छु भनेर बताएको छोरा १२ दिनमै पक्राउ परेपछि उनी बिखलबन्दमा थिए । के गर्ने, कसो गर्ने मेसै पाइरहेका थिएनन् ।
साइबर ब्यूरोको टोलीले सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकलाई हैरानी दिने र ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकसहित १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ पुरुष र पा“च महिला छन् । उनीहरूविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई अनुसन्धान भइरहेको ब्यूरोको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए ।
पक्राउ पर्नेमा काठमाडौं महागरपालिका–४ धुम्बाराहीस्थित अरबिट नेक्सस प्रालिका मुख्य सञ्चालक ३३ वर्षीय विजय श्रेष्ठ, कम्पनीका सुपरभाइजर भारतीय नागरिक ३२ वर्षीय निशान खैरे, कम्पनीका निरीक्षक भारतीय नागरिक २४ वर्षीय मनिष तिवारी रहेका छन् ।यसैगरी, कम्पनीका कर्मचारीहरू काठमाडौं रानीबारीका २९ वर्षीय आमिन खड्का, लमजुङ नाल्मा गाउँपालिका–५ का २२ वर्षीय करण गुरुङ, काभ्रेको बनेपा नगरपालिका–३ का ३५ वर्षीय अनोज लामा, उदयपुरको चौदण्डीगढी नगरपालिका–१ की २० वर्षीया आरुषी राई, नुवाकोटको किस्पाङ गाउ“पालिका–२ की २१ वर्षीया युबिना तामाङ, काठमाडौं रानीबारीका आरस तुलाधार, दोलखाको भीमेश्वर नगपालिका–५ का २६ वर्षीया सपना मगराती, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ की १९ वर्षीया टीका राउत, झापाको भद्रपुर नगरपालिका–१४ की २४ वर्षीया सुनिता राउत र नुवाकोटको तादी गाउँपालिका–४ का १९ वर्षीय सागर श्रेष्ठ छन् । उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
निशानामा अमेरिकी नागरिक
पक्राउ परेकाहरूले अमेरिकी नागरिकलाई निशानामा पार्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले अमेरिकी र क्यानेडियन नागरिकलाई लक्षित गरी क्लाइन्ट एक्सिस लिएर ती व्यक्तिको व्यक्तिगत विवरणमा आफ्नो पहुँच पु¥याउने गरेका थिए । ‘योर आइपी एड्रेस इज ह्याक्ड एण्ड योर नेटवर्क इज कम्प्रोमाइज्ड’ जस्ता भ्रामक सन्देश पठाई पीडितहरूबाट बैंक विवरण र व्यक्तिगत विवरणसमेत लिएर गरी हैरानी दिने र ठगी गर्ने गरेको ब्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले बताए ।
हालसम्म ९० जना अमेरिकी नागरिकलाई पीडित बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अझ धेरैजना पीडित हुनसक्ने अनुमान छ । प्रहरीले समयमै ‘एक्सन’ नलिएको भए नेपालीसहित धेरै नागरिक उनीहरूको फन्दामा पर्नसक्ने प्रहरी बताउँछ ।पक्राउ परेकाहरूले काठमाडौंमा रहेको कल सेन्टरमार्फत् पीडितहरूलाई ‘तपाईं बाल यौन दूराचारमा संलग्न हुनुहुँदो रहेछ, अनलाइन जुवामा सहभागी हुनुहु“दो रहेछ, हातहतियारको कारोबारमा संलग्न हुनुहुँदो रहेछ’ भनेर डर, धाक धम्की देखाई उनीहरूका व्यक्तिगत र बैंक विवरण लिने गरेको पाइएको छ । अभियुक्तहरूको निशानामा वृद्ध र पेन्सन लिएर बसेका नागरिक पर्ने गरेको एसएसपी अर्यालले बताए ।
धुम्बाराहीको कल सेन्टरमा आउने विवरणलाई टेलिग्राममार्फत भारतको नयाँ दिल्लीमा रहेको कार्यालयमा पठाउने र उतैबाट पीडित व्यक्तिको खातामा रहेको रकम निकाल्ने, अन्यत्रै खातामा सार्नेलगायतका काम गर्ने गरेको पाइएको उनी बताउँछन् । हालसम्म उनीहरूले कति रकम दुरुपयोग गरे भन्ने यकीन विवरण भने आइसकेको छैन । तर, एउटै व्यक्तिको खाताबाट सात हजार अमेरिकी डलरसम्म झिकेको पाइएको छ ।
यसरी अर्बौं रकम ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । अनुसन्धान पूरा भएपछि यसबारे विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ । यस घटनामा भारतीय प्रहरी र इन्टरपोलको समेत सहयोग लिएर अनुसन्धान गर्ने एसएसपी अर्यालले बताए ।
दुई महिनाअघि स्थापना भएको थियो कम्पनी
आइटी कम्पनी खोल्ने सोच बनाएका काठमाडौं महानगरपालिका–१२, कपनका विजय श्रेष्ठ साथीभाइसँग सरसल्लाहमा थिए । त्यसक्रममा उनको भारतीय नागरिकसँग सम्पर्क भयो । कुनै तेस्रो व्यक्तिमार्फत उनी भारतीय नागरिक निसान खैरे र मनिष तिवारीसम्म पुगे । विजयको पृष्ठभूमि प्रहरीले खुलाएको छैन ।
त्यसपछि निसान र मनिषसँगै तीन भारतीय नागरिक नेपाल आए र विजयलाई तालिम दिए । सम्पूर्ण लगानी भारतीय नागरिकले गर्ने तर, कम्पनी विजयको नाममा दर्ता गर्ने मौखिक सहमतिअनुसार उनीहरू अघि बढे । दुई महिनाअघि मात्र विजयको नाममा अरबिट नेक्सस प्रालि स्थापना भएको देखिन्छ ।
त्यसपछि उनीहरूले आवेदन खोले । मानिसहरू भर्ना गरेर उनीहरूलाई के काम गर्ने, कसरी गर्ने भन्ने तालिम दिए । लिखित ‘स्क्रिप्ट’ दिए । कल सेन्टरमा कार्यरतहरूले सोहीअनुसार पीडितसँग कुरा गर्ने, प्रभावमा पार्ने, बैंक र व्यक्तिगत विवरणसम्म पहु“च पु¥याउने गरेको प्रहरी निरीक्षक सुवेदीले बताए । तर, कम्पनीले आफ्नो विवरणमा लोगो र ग्राफिक्स डिजाइन, वेब तथा एप डेभलपमेन्ट, घरजग्गा, निर्माण, कुरियरलगायतका सेवा प्रदान गर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
वेबसाइटमा लेखिएका कुनै काम कम्पनीले अहिलेसम्म गरेको नभेटिएको सुवेदीले बताए । उनीहरूले पीडितहरूका कम्युटर र मोबाइलमा सुरुमा भाइरस र सम्पर्क नम्बर पठाउने गरेका थिए । कल सेन्टरमा फोन आएपछि अनलाइन लिंकमा क्लिक गर्न लगाई अन्तिममा ओटिपी कोडसहित सम्पूर्ण विवरण लिएर मुख्य कार्यालय भारतमा पठाउन गरेको पाइएको छ ।
पक्राउ परेका श्रेष्ठ, खैरे र तिवारीले मुख्य व्यक्ति भारतमा रहेको बयान दिएका छन् । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । यसमा थप को–को संलग्न छन् र कति पीडित छन् भन्ने अनुसन्धानकै क्रममा रहेको ब्यूरोले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ १९:१३