काठमाडौं - राष्ट्रिय गौरवको आयोजनाकारूपमा रहेको कालीगण्डकी करिडोर सडकको बाग्लुङ खण्ड अवरूद्ध भएको छ । बाग्लुङको जैमिनी नगरपालिकामा ठाउँ-ठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको हो ।
जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।
सडक अवरूद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरूमा जान समस्या भएको छ भने बाग्लुङबाट बुटवल जाने यात्रीहरूलाई समेत समस्या परेको छ ।
अवरूद्ध सडक खुलाउन सडक विभागले कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ । पहिरो पन्छाउँदै सडक सञ्चालन गरेपनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीयवासीको बताए ।
बाग्लुङ बजारको मालढुंगा, बलेवा, जैमिनी नगरपालिका-१ कुश्मिसेरा, वडा नं-५ बिनामारे, वडा नं-६ अर्जेवा, वडा नं-७ जैदी र वडा नं-८ छिस्तीको तल्लो खण्डमा कालीगण्डकी करिडोर सडक पर्दछ ।
यस्तै जैमिनी नगरपालिका(७ जैदी र वडा नं-८ छिस्ती जोड्ने चौरीखोलामा समयमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ । कालीगण्डकी करिडोरमा पर्ने सो खोलामा राखिएको बेलिब्रिज निकालिएको र अर्को पुल निर्माण सम्पन्न नहुँदा हिँडेर खोला तर्नसमेत कठिन भएको स्थानीय नवीन अधिकारीले जानकारी दिए ।
करिडोरअन्तर्गत सो खोलामा यातायातसमेत सञ्चालन हुन सकेको छैन । सवारी साधनका लागि डाइभर्शन बनाएको भए पनि बर्खाको बाढीले बगाउँदा करिडोर हुँदै बुटवल पुग्ने बाटो अहिले अवरूद्ध रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १३:१२