काठमाडौं- काठमाडौं उपत्यकाभित्र उत्पादन हुने फोहोर व्यवस्थापनको विषय सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं र ललितपुर महानगरको बढी चासोमा पर्ने गरेको छ ।
पछिल्लो पटक सिसडोल ल्याण्डफिल साइट भरिएका कारण सरकारले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको छ । तीव्र विवाद र चौतर्फी आलोचनाकाबीच सरकार, स्थानीयवासी र महानगरबीच सहमति भएको छ ।
फोहोरलाई मोहोर बनाउने विषयमा लामो समयदेखि चर्चा भएपनि त्यसमा खास प्रगति हुन सकेको छैन । कुहिने फोहोर प्रयोग गरेर घरमै कम्पोस्ट मल बनाउन सकिन्छ । नकुहिने फोहोरको व्यवस्थापनको विषय सबैभन्दा गम्भीर रहेको छ ।
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फोहोरबाट बिजुली र सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्कर उत्पादन हुने मेसिनको निरीक्षण गरी त्यसको विस्तारका बारेमा चासो व्यक्त गरेका छन् ।
उक्त मेसिनको निरिक्षण गर्दै मुख्यमन्त्री पाण्डेले देशलाई समृद्ध बनाउन यस्ता उपकरण कोसेढुंगा सावित हुने बताए । हेटौंडा उपमहानगरपालिका(८ का कृष्ण खतिवडाले विगत चार वर्षदेखि जापानी प्रविधिको प्रयोग गरेर सो मेसिन निर्माण गरेर विदेश निर्यात गर्दै आएका छन् ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उक्त मेसिनको निरीक्षण गर्दै यस्ता कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए । उनले फोहोरमैलाको व्यवस्थापनको जिम्मा स्थानीय सरकारको रहेपनि आफूलाई जिम्मा दिएमा यस्ता मेसिन जडान गरेर समस्याको निराकरण गर्न सकिने उल्लेख गरे ।
मेसिन बनाउने उद्योगको निरीक्षणको क्रममा यस्ता कामको प्रोत्साहनको लागि कार्यविधि बनाउने र कार्यान्वयनमा ल्याउने उनको भनाइ छ । फोहोरबाट बिजुली र क्लिङ्कर उत्पादन गर्ने यस्ता मेसिन प्रयोगमा ल्याएमा फोहोर व्यवस्थापन मात्र नभएर फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ ।
फोहोर व्यवस्थापन गर्न समस्या रहेको सहरी क्षेत्रलाई उक्त मेसिन उपयोगी हुने उनले बताए । फोहोरबाट पनि समृद्धि ल्याउन सकिन्छ भन्ने सन्दर्भमा यो राम्रो माध्यम बन्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
आफूले कृषि औजार कारखाना खोल्नको लागि आगामी आवमा समेत बजेट विनियोजन गरेकोले यस्ता उद्योगलाई प्रोत्साहन गर्ने उनले बताए । उक्त मेसिनले फोहोरमा भएका टिन, फलामलगायतका बस्तु छानेर अलग गर्छ ।
कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिङ्कर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिए । नेपालमा वातावरणमैत्री छ भनेर प्रमाणपत्र दिन मिल्ने कानुनमा व्यवस्था नभएको कारण आफ्नो उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नुपरेको दुखेसो खतिवडाको छ ।
नेपालभित्र व्यापार गर्ने अनुमति भए पनि हालसम्म कुनै पनि निकायले खरिद नगरेको उनको भनाइ छ । यद्यपि बनेका मेसिन भने जापान पठाएर बिक्री भइरहेको बताए । मेसिनले फोहोर परिमार्जन प्रक्रियामा निस्कने ग्यासलाई तापक्रम दिएर निस्क्रिय बनाइदिन्छ ।
शुद्ध हावामात्र वायुमण्डलमा छोड्छ । सो मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०।५ मेगावाट बिजुली उत्पादन हुने खतिवडाले जानकारी दिए।
उनका अनुसार कुहिने फोहोरबाट पत्थर कोइला बन्ने र नकुहिने फोहोरबाट भने क्लिङ्कर निस्कन्छ जसबाट सिमेण्ट उत्पादन गर्न सकिन्छ । मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उनको भनाइ छ ।
मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको खतिवडाको दाबी छ ।
अन्य मुलुकबाट ठूलो परिमाणमा मेसिनको माग भएको तर नेपालबाट पठाउनको लागि नेपाल सरकारबाट प्रमाणपत्र दिने प्रावधान नभएकाले जापानमा पार्टपुर्जा लगेर फिट गरेर बेच्नको लागि पार्टपुर्जासहित ५० जना कामदार लिएर आफू जापान जान लागेको उत्पादन कम्पनीका सञ्चालक कृष्ण खतिवडाले बताए ।
नेपालमा प्रयोग गर्नपर्ने अवस्था भए पनि हालसम्म कुनै पनि निकायले प्रयोग नगरेका कारण आफूलाई दुःख लागेको उनको भनाइ छ । सहरी क्षेत्रका स्थानीय तहले फोहोर व्यबस्थापनको जिम्मा दिए आफ्नो मेसिन जडान गरेर निःशुल्क व्यवस्थापन गरिदिने खतिवडाले बताए ।
मेसिनबाट निस्कने विद्युत् र क्लिङ्करले खर्च उठाउने भएका कारणले पनि आफूले जिम्मा पाएमा उक्त काम गरेर देखाउने उनले बताएका हुन् । काठमाडौं उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको काठमाडौं महानगरको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १५:१७