काठमाडौं, २८ कार्तिक । निजामती कर्मचारीको अवकाशको उमेर ५८ बाट ६० वर्ष हुने भएको छ । संघीय निजामती ऐनमा ६० वर्ष राख्ने निर्णय भएको छ ।
संसदको राज्य व्यवस्था समितिको बैठकले बिहीबार यस्तो निर्णय गरेको हो । अवकाशको नयाँ प्रावधान संघीय निजामती ऐन राजपत्रमा प्रकाशित भएपछि पास हुने छ ।
निजामतीको माथिल्लो तहका कर्मचारीले उमेरहद बढाउन लबिङ गर्दै आएका थिए । नेपालीहरुको औसत आयु बढेको भन्दै यस्तो माग गरिएको थियो । त्यसमा सांसदहरु समेत सहमत भएका हुन् ।
निजामतीको उमेर हद बढाउँदा सुरक्षा निकायमा पनि त्यही अनुसार संशोधन गर्न दबाब परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद छ । जसकारण ५० वर्षको उमेरमै अवकाश पाउने अवस्था छ ।
नेपाल प्रहरीको समेत नयाँ ऐन गृह मन्त्रालयमा छलफलको क्रममा छ । जसमा ३० वर्षे सेवाहद हटाउन प्रहरीबाट माग हुँदै आएको छ ।