काठमाडौं- काठमाडौं– महानगरपालिकाभित्र २५० वटा शौचालय सञ्चालनमा आउने भएको छ । त्यसका लागि ३३ वटा संघ संस्थासँग काठमाडौँ महानगरपालिकाले सम्झौता गरिसकेको छ । बैङ्क, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो ।
महानगरका प्रमुख बालेन्द्र शाह उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका थिए । यस्तै दोस्रो पक्षका तर्फबाट प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए ।
सम्झौता आउँदो ५ बर्षका लागि हो । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरुकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् ।
यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोक्नेछ । उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् । महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो ।
प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए । तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन् भने सम्पर्क गरेकामध्ये सम्झौताका बेला केहीसँग सम्पर्क हुन नसकेको महानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १७:०६