प्रभाव संवाददाता
काठमाडौं, ४ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्षको अधिकार पुष्पकमल दाहाल (प्रचण्ड(लाई दिइएको छ ।
बुधबार बसेको पार्टी सचिवालय बैठकले पार्टीको कार्यकारी अध्यक्षको काम कारबाही गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेके हो । यसँगै अर्का अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार चलाउन सचिवालय बैठकले निर्णय गरेको छ । यसअघि पार्टी एकता गर्दा अध्यक्षद्वयबीच आलोपालो सरकार चलाउने गोप्य सहमति भएको थियो ।
अध्यक्ष दाहालले कार्यकारी अधिकार पाएपनि दुवैको बरियता भने समान रहने भएको छ । तर, अब पार्टीको आन्तरिक बैठकको अध्यक्षता दाहलालले गर्नेछन् ।
पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिन थालेपछि दाहालले आफुलाई कार्यकारी अधिकार दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमाथि बुधबार सचिवालय बैठकमा छलफलपछि कार्यकारी अधिकार दिने निर्णय भएको हो । बैठकमा नयाँ मन्त्री छनोटबारे पनि छलफल भएको छ ।