काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा (साउनदेखि जेठसम्म) मुलुकको व्यापार घाटा १६ खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार ११ महिनाको अवधिमा मुलुकको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब तीन खर्बले बढी हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्म १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो ।
विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा नेपालले १९ खर्ब ४९ अर्ब बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कूल वैदेशिक व्यापार २९ दशमलव ५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १५ खर्ब चार अर्ब ६१ करोड १८ लाख रुपैया“ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
साढे १७ खर्बको आयात
चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा साढे १७ खर्बभन्दा बढीको विदेशी वस्तु आयात भएको छ । विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको हो ।
गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयात बढेको छ ।
यसैगरी, नेपालबाट चालु आर्थिक वर्षको ११ महिनामा एक खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिमा एक खर्ब २१ अर्ब २५ करोड रुपैया“ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
साढे २ खर्बको पेट्रोलियम पदार्थको आयात
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै साढे दुई खर्ब बढीको नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार डिजेल, पेट्रोल तथा खाना पकाउने एलपी ग्यासको आयातमा दुई खर्ब ६७ अर्ब २९ करोड ९८ लाख रुपैयाँ नेपाली रुपैयाँ बहिरिएको हो ।
जसमा सबैभन्दा धेरै डिजेल आयातमा एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख, पेट्रोलमा ६२ अर्ब ९१ करोड ९८ लाख र एलपी ग्यासको आयातमा ५९ अर्ब १६ करोड छ लाख रुपैयाँ भन्दा बढी बाहिरिएको छ ।
११ महिनाको अवधिमा नेपालमा ५३ अर्ब २५ करोड ५१ लाख रुपैयाँ बराबरको पाम आयल, ४८ अर्ब ७८ करोड ४६ लाख रुपैया“ बराबरको स्टिल आइरन र ३८ अर्ब छ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको मोबाइल आयात भएको छ ।
यस्तै, उक्त अवधिमा नेपालबाट एक खर्ब ९० अर्ब २३ करोड ८६ लाख रुपैयाँ भन्दा बढीको सोयाबिन तेल, ६६ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ भन्दा बढीको पाम आयल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ ०७:२३