कपिलवस्तु- दुर्घटना बढेको भन्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले तौलिहवाको गौढी चोकदेखि भवानी भिक्षु चोकसम्म रहेको डिभाइडर र सोलार बत्तीको पोल हटाउन निर्देशन दिएका छन्। गत असार ५ गते गौढी चोकमा बाटो साँघुरो हुँदा टिप्परको ठक्करबाट भिक्षु चोकका एक जना साइकलयात्रीको मृत्यु भएको थियो।
सो घटनालगत्तै स्थानीयवासी आक्रोशित बनेपछि मेयर पौडेल, प्रजिअ धर्मेन्द्र मिश्रा, प्रहरी उपरीक्षक दानबहादुर कार्की सडक पूर्वाधार कार्यालय शिवपुरका प्रमुख बिष्णु लामासहितको टोलीले सोमबार स्थलगत अनुगमन गरेको थियो।
सोही क्रममा मेयर पौडेलले बाटोको बीचमा रहेको डिभाइडर र सोलार बत्ती हटाउन निर्देशन दिएका थिए। सो अवसरमा मेयर पौडेलले बाटो साँघुरो भएकाले बीचमा रहेको डिभाइडर र सोलार बत्तीको पोलले गर्दा दुर्घटना बढेकाले आफूले हटाउन निर्देशन दिएको बताए। अहिले सो बाटोमा नाला निर्माणको क्रमा रहेको र ठाउँठाउँमा खनिएकाले बाटो निकै साँघुरो छ।
बाटोको दायाँ बायाँ १५र१५ मिटर कायम गरिए पनि नाला निर्माण गर्दा खनिएकाले बाटोमा हिँड्न यात्रुहरुलाई निकै गाह्रो पर्ने गरेको छ। त्यही साँघुरो बाटोमा पनि बीच बस रोक्ने गरिएको, पसल ठेला र सरसामानहरु राखिएकाले दुर्घटना बढेको स्थानीयवासी बताउँछन्।
सो अवसरमा प्रजिअ मिश्राले बाटो क्षेत्रमा राखिएको सरसामान तथा ठेलाहरु सबै हटाउन निर्देशन दिए। ‘बाटोको क्षेत्रमा पर्ने ठाउँमा सरसामान राखिएको छ त्यसलाई तत्कालै हटाउन पर्छ,’ उनले भने।
मेयर पौडेल र प्रजिअ मिश्राको निर्देशनपछि डिभाइडर र सोलार बत्ती पोल हटाउन सुरु गरिएको छ। बाटोमा रहेका सरसामान समेत हटाउने कार्य थालनी गर्ने नगरपालिका मेयर पौडेलले बताए। डिभाइडर सडक कार्यालयले १० वर्षअघि र सोलार बत्ती नगरपालिकाले जडान गरेको थियो।
साथै निर्माणको काम चाँडै सक्न समेत सडक तथा पूर्वाधार कार्यालय र ठेकेदार कम्पनीलाई मेयर पौडेल र प्रजिअ मिश्राले निर्देशन दिएका थिए।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ १०:४७