एजेन्सी- असार १० गते बिहान अद्भुत खगोलीय दृश्य देखिँदै छ । पाँच ग्रह र चन्द्रमा एउटै लहरमा बसेको देखिने छ । यो साता एउटा दुर्लभ खगोलीय घटना हेर्ने अवसर पृथ्वीवासीलाई जुरेको छ।
मौसम राम्रो भएमा उत्तरी गोलार्धका अधिकांश स्थानबाट पाँचवटा ग्रह र चन्द्रमा एउटै लहरमा रहेको देखिनेछ।
बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि बिहानीपख सूर्योदयभन्दा अगाडि एउटा वक्ररेखामा देखा पर्नेछन्।
असार ९ गते बिहीवारदेखि असार १० गते शुक्रवारसम्म तिनको संयोजन दर्शनीय अवस्थामा हुनेछ।
यो संयोजनलाई अद्भुत घटना मानिन्छ। खाली आँखाले नै ग्रहहरूको यो खगोलीय भेला देख्न सकिनेछ।
यसअघि सन् २००४ मा ती ग्रहहरू त्यसरी एकैठाउँ देखा परेका थिए।
दक्षिणी गोलार्धबाट बुध र शुक्र ग्रह बिहानीपख देखा पर्छन्। तिनको बीचमा रोहिणी तारा हुनेछ।
रोहिणी पृथ्वीबाट देखिने १५ वटा चम्किला तारामध्ये एउटा हो। यसको व्यास सूर्यको भन्दा ४४ गुना बढी छ र यो रातो रङ्गको देखिन्छ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९ १५:३१