पछिल्लो समय दैनिकजसो पानी परिरहेको छ । जसका कारण काठमाडौंका सडकमा रहेका खाल्डा भरिने र हिलाम्ये हुने समस्या देखिन थालेको छ । अनि, पानीमा दूषित पदार्थ मिसिन थालेको छ । जसले गर्दा हैजा, पखालालगायतका पानीजन्य स्वास्थ्य समस्या देखिन थालेका छन् ।
काठमाडौंका विभिन्न स्थानका चारजनामा त हैजा पुष्टि भइसकेको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजा देखिएको छ ।
हैजा फैलिनुको कारण फोहोर र प्रदूषित पानी रहेको उनी बताउँछन् । यद्यपि, यसको पूर्ण अनुसन्धानका लागि एक समिति बनाइएको छ ।विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेका कारणले पनि हैजाको प्रकोप बढेको हुनसक्ने बताइएको छ । हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका बिरामीको खोजी थालिएको छ ।
बागबजारका दुई जना १८ र २३ वषर््ीय युवतीमा यही असार ५ गते तथा भोटेबहाल र डिल्लीबजारमा एक/एकमा मंगलबार हैजा देखिएको हो ।बागबजारको पानीको तीनवटा नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको छ। । एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युवेलको पानीको नमूना परीक्षण गरिएको थियो ।
स्वास्थ्य कार्यालय काठमाडौंले चार जनामा हैजा देखिएपछि सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदूषित खानेकुरा तथा झि“गा भन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङसमेत सुरु गरेको छ । खानेपानीलाई शुद्धीकरण गरेर मात्र खान आग्रह गर्दै महिला स्वास्थ्य स्वयंसेविका टोली टोलटोलमा खटाउन थालिएको छ ।
कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिडेट, खानेपानी बोक्ने ट्यांकर व्यवसायी र जार व्यवसायीसँग पनि खानेपानी शुद्धीकरण गरेर मात्र वितरण गर्न भनेको छ ।यो समस्या बागबजार, भोटेबहाल र डिल्लीबजारको मात्र होइन, सिंगो काठमाडौं उपत्यकाको हो । सबैभन्दा बढी जनघनत्व यहीँ छ ।
लामो समय काठमाडौंका सहरमा थुप्रिएको फोहोर उठ्न सकेन । जसले गर्दा प्रदूषण बढ्यो । विभिन्न रोगको जोखिम पनि उत्तिकै बढिरहेको छ । तसर्थ, हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गरौं । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने गर्छन् ।
यसलाई ध्यान दिएर पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गरौं । व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइमा ध्यान दिऔं । खुला रूपमा दिसापिसाब नगरौं । चर्पीको प्रयोग गरौं । दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुने गरौं ।
स्वास्थ्य मन्त्रालय र सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थाले पनि नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सर्वसुलभ सेवा प्रदान गर्नुपर्छ । सम्भावित जोखिमलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न मन्त्रालयसँग आग्रह गर्दछौं । बाक्लो वस्ती र जनघनत्व रहेको सहरमा रोग फैलिनसक्ने सम्भावना ज्यादै हुन्छ । तसर्थ, ठूलो क्षति हुनबाट रोक्नका लागि आजै र अहिल्यै पहल गरौं । नत्र, पछुताउनुको विकल्प हुने छैन ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९ ०८:२८