काठमाडौं- चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन् ।
दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पहिलो आवको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । जिल्लाका सात पालिकाले आगामी आवको लागि ११ अर्ब ६५ करोड ८ लाख ३९ हजार रूपैयाँको बजेट ल्याएका छन् ।
सबैभन्दा धेरै भरतपुर महानगरपालिकाको बजेट छ भने सबैभन्दा थोरै इच्छाकामना गाउँपालिकाको छ । बजेटमाथि कार्यपालिका सदस्यका बीचमा दफावार छलफलपछि केहि दिनमा नै बजेट पारित गर्नुपर्ने व्यवस्था छ ।
भरतपुर महानगर
भरतपुर महानगरको बजेट सात पालिकाको कुल बजेटको आधा छ । महानगरले आगामी आवको लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रूपैयाँ बजेट ल्याएको छ । महानगरको नगरसभाको ११औँ अधिवेशनमा नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आवको बजेटका लागि आन्तरिक आयमा एक अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड र मर्मत सम्भार कोषबाट ४ करोड प्राप्त हुने अनुमान छ ।
सडक बोर्ड नेपालबाट ३ करोड, अन्तरसरकारी अख्तियारी शीर्षकमा एक अर्ब ४० करोड र जिल्ला समन्वय समितिबाट ५ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
महानगरले अधुरा आयोजनाका लागि एक अर्ब ३० करोड रूपैयाँ छुट्याएको छ । वडास्तरबाट हुने आयोजनाका लागि प्रत्येक वडालाई दुई करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको अधिकारीले बताए ।
राप्ती नगरपालिका
राप्ती नगरपालिकाले आगामी आवका लागि ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एघारौँ नगर सभाले आगामी आवको लागि ९० करोड ९२ लाख ६४ हजार बराबरको बजेट ल्याएको हो ।
सभामा नगर उपप्रमुख देवेन्द्र लामाले आगामी आर्थिक वर्षको बजेट पेस गरेका थिए । उपप्रमुख लामाका अनुसार चालुतर्फ ५३ करोड २० लाख तथा पुंजीगततर्फ ३७ करोड ७२ लाख ६४ हजार बराबरको बजेट छ ।
नगरले आन्तरिक स्रोतबाट ८ करोड ५० लाख रूपैयाँ उठाउने लक्ष्य लिएको छ । संघ र प्रदेशको अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट ६३ करोड १८ लाख ८८ हजार रूपैयाँ प्राप्त भएको छ ।
नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शमशेर लामाले कृषि र किसान लाभान्वित हुने कार्यक्रम ल्याइएको बताए । कृषि क्षेत्रको विकासका लागि बीमा सुविधा, भण्डारण, कृषि सामाग्रीको सरल र नियमित उपलब्धता, सिंचाई लगायतको व्यवस्था गरिने प्रमुख लामाले बताए ।
खैरहनी नगरपालिका
खैरहनी नगरपालिकाले आगामी आवका लागि १ अर्ब १ करोड १२ लाख ५१ हजार रूपैयाँ बजेट ल्याएको छ । शुक्रबार भएको नगर सभामा नगर उपप्रमुख कविता उप्रेतीले नगर प्रमुखले पेश गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट पेश गरेकी हुन् ।
प्रस्तुत बजेटमा आन्तरिक आम्दानी १५ करोड ८ लाख संकलन हुने अनुमान छ ।
त्यस्तै जिल्ला समन्वय समितिबाट प्राप्त हुने सहयोग ५० लाख, संघीय सरकार सशर्त अनुदान ४ करोड, समानीकरण अनुदान १८ करोड १८ लाख, राजस्व बाँडफाँट भई प्राप्त हुन आउने ११ करोड ५७ लाख, समपुरक अनुदान १ करोड २० लाख र विशेष अनुदान ३ करोड ५८ लाख आउने अनुमान छ ।
प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ४२ लाख, समानिकरण अनुदान १ करोड ७८ लाख, राजस्व बाँडफाँट भई आउने सवारी साधन कर ६ करोड ९४ लाख, विषेश अनुदान ६५ लाख, समपुरक अनुदान १ करोड ६२ लाख, सडक बोर्ड नेपालबाट ५० लाख र भारतीय दूतावासबाट प्राप्त हुने अनुदान ३ करोड ४ लाख बजेटमा समावेश गरिएको छ ।
कालिका नगरपालिका
कालिका नगरपालिकाले आगामी आवको लागि ८५ करोड ९७ लाख ५१ हजार रूपैयाँ बजेट ल्याएको छ । शुक्रबार नगर सभाको ११औँ अधिवेशनमा उपप्रमुख विमला तामाङले बजेट प्रस्तुत गरेकी थिइन् ।
संघीय सरकारबाट समानिकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँटबाट ११ करोड ६० लाख ४ हजार, समपुरक अनुदान १ करोड, खानी तथा खनिज रोयल्टी ५ लाख र वन रोयल्टीबाट ५ लाख रूपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ४९ लाख, सशर्त अनुदान २ करोड ३९ लाख ६६ हजार, राजश्व बाँडफाँटबाट ५ करोड ५० लाख २९ हजार र समपुरक अनुदान २ करोड ९९ लाख ९८ हजार रूपैयाँ प्राप्त हुने तामाङले जानकारी दिइन् ।
नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ५० लाख रूपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ ।
यसका अलवा मालपोत कार्यालयबाट ४ करोड, राजश्व बाँडफाँट र खोलाजन्य पदार्थबाट १ करोड, जिल्ला समन्वय समितिबाट १ करोड, सडक बोर्डबाट ४० लाख, जनसहभागिताबाट १ करोड र नगर मौज्दात १० करोड रहने अनुमान छ ।
रत्ननगर नगरपालिका
रत्ननगर नगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १ अर्ब ३७ करोड २७ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ ।
नगर उपप्रमुख यादवप्रसाद पाठकका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट ११ करोड रूपैयाँ आम्दानी गर्नेछ ।
संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ करोड २८ लाख ८० हजार, वित्तीय समानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख, विशेष अनुदान ५० लाख, सडक बोर्डबाट प्राप्त ८ लाख, सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ ।
प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ७ करोड ७५ लाख ५१ हजार, वित्तीय समानिकरण अनुदान २ करोड ८ लाख ७५ हजार, सशर्त अनुदान ४ करोड ५ लाख, समपुरक अनुदान २ करोड ७५ लाख ७१ हजार, विशेष अनुदान ३५ लाख, पूर्वाधार विकास कार्यक्रम २ करोड ६७ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।
त्यस्तै जिल्ला समन्वय समितिबाट ८० लाख र जनसहभागिताबाट १ करोड आम्दानी गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाले ११ वटा गौरवको योजनालाई प्राथमिकता दिएको छ ।
माडी नगरपालिका
माडी नगरपालिकाले १ अर्ब ७ करोड ८० लाख ८२ हजार बजेट ल्याएको छ । नगर उपप्रमुख खेम महतोले चालुतर्फ ४१ करोड ५० लाख र पुँजीगततर्फ ६५ करोड ४८ लाख १६ हजार विनियोजन गरिएको बताए ।
आगामी आवको बजेटका लागि आन्तरिक स्रोतबाट १४ करोड २० लाख ७० हजार, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ७५ करोड ८२ लाख र राजस्व बाँडफाँड, जिसस, जनसहभागिता लगायतबाट १७ करोड ९५ लाख ४६ हजार रूपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । माडीमा कृषि, पर्यटन, सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।
इच्छाकामना गाउँपालिका
इच्छाकामना गाउँपालकाले आगामी आवको लागि ६७ करोड ५५ लाख ३५ हजार रूपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले सबैभन्दा धेरै पूर्वाधार विकासमा बजेट छुट्याएको छ, जसमा आठ करोड ८४ लाख रूपैयाँ रहेको छ ।
स्थानीय सडक, पुल तथा झोलुंगे पुल निर्माणको लागि मात्रै पाँच करोड ७७ लाख रूपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकाले कृषि क्षेत्रको लागि एक करोड २८ लाख रूपैयाँ छुट्याएको छ । सामाजिक विकासतर्फ तीन करोड ७६ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन भएको छ ।
स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन भत्ता, इच्छाकामना अस्पताल निर्माण, गर्भवती स्वास्थ्य पोषणलगायतले प्राथमिकता पाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९ १०:४५