जाजरकोट - आठबिसकोट नगरपालिका रूकुमपश्चिमले नगरपालिकालाई खरको छानामुक्त बनाउने काम अघि बढाएको छ । नगरपालिकाले पहिलो चरणमा ९ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको हो ।
नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षतिसमेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याएको बताए । शनिवारदेखि नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ ।
नगरपालिकाले खरका छाना भएका घरको संखया भने पहिले नै संकलन गरेको थियो । वडा १ मा ५०, २ मा ४६, ३ मा ८७, ४ मा ४४ घरपरिवारलाई वितरण गरिने छ ।
यस्तै, वडा ५ मा ५१, ६ मा ५५, ७ मा ४३, ८ मा ३६ र ९ मा ५३ घरपरिवारलाई जस्तापाता वितरण गरिने छ । वडा १० मा ७१, ११ मा ७२, १२ मा ५८, १३ मा ४१ र १४ मा ४० घरपरिवारलाई जस्तापाता वितरण गर्ने नगरपालिकाको योजना छ ।
अतिविपन्न घरपरिवारलाई समेत जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा फुसका छाना हटाइ जस्तापाताको छानो राख्ने कार्यक्रमअन्तर्गत १३ करोड बजेट विनियोजन गरिएको छ ।
पहिलो चरणमा ९ करोडको जस्तापाता खरिद गरिएको र बाँकी आवश्यकताका आधारमा थप जस्तापाता खरिद गरिने पनि नगरपालिकाले बताएको छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९ १२:५७