काठमाडौं– सरकारले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको राष्ट्रिय महिला भलिबल टोलीलाई मंगलबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (सागमा सहभागीलाई शुभकामना दिँदै भलिबल खेलमा ऐतिहासिक सफलता हासिल गरेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडा, युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारलगायतले सम्मान गरे । सम्मानस्वरूप राष्ट्रिय टोलीका प्रत्येक सदस्यले जनही रु तीन लाख प्राप्त गरेका छन् ।
एसिसी सेन्ट्रल जोनमा नेपालले स्वर्ण जितेपछि सरकारले यसअघि नै नेपाली टोलीलाई जनही रु तीन लाख प्रदान गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले सागलाई सरकारले भ्रमण वर्ष २०२० को पूर्वअभ्यासको रूपमा समेत लिएको बताए । उनले भ्रमण वर्ष सफल बनाउन सागले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सागले क्षेत्रीय, राजनीतिक र आर्थिक समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे ।
उनले राष्ट्रिय खेल भलिबल भएकाले सुविधा सम्पन्न कभर्डहल निर्माण गर्ने सरकारको योजनासमेत रहेको भन्दै यसका लागि जग्गा खोज्ने काम भइहेको बताउनुभयो । १३ औँ साग नजिकिँदै गर्दा सरकारले पदक विजेताको पुरस्कार रकममा उल्लेखनीय वृद्धि गर्ने अर्थमन्त्री खतिवडाले बताए । उनले के कति रकम वृद्धि गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र उल्लेख गर्ने बताए ।
यसअघि सरकारले १२ औँ सागमा स्वर्ण विजेतालाई रु तीन लाख, रजत विजेतालाई रु दुई लाख तथा कास्य पदक विजेतालाई रु एक लाख प्रदान गरेको थियो ।