काठमाडौं - नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आज पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्ति लिएका चौधरीले आजै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री चौधरीले आफ्नो क्षमता र योग्यताअनुसार काम गर्ने बताएका छन् । उनले आफूले पदको दुरूपयोग नगर्ने बताएका छन् । उनले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । पदको दुरुपयोग गर्दिन ।’
थोरै समयमा धेरै काम गर्नुपर्ने भएको भन्दै उनले आफूले रफ्तारमा काम गर्ने बताए । पदभार ग्रहण गर्दै मन्त्री चौधरीले प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
उनले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि स्पीडमा हुने दाबी गरेका हुन् । उनले आफू चार सयको स्पीडमा सबैभन्दा धेरै काम गर्ने दाबी गरेका छन् ।
उनले भने, ‘ म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु ।’ उनले यसअघिका मन्त्रीले सुरु गरेका कामलाई निरन्तरता दिने योजनामा रहेको पनि जानकारी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९ १३:३७