भोजपुर- व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएसँगै यस खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो ।
यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठाउँमा खुर्सानीको खेती हुने गरेको छ ।
त्यस्तै षडानन्द नगरपालिका, अरुण, हतुवागढी, आमचोक, साल्पासिलिछो गाउँपालिकाको विभिन्न ठाउँमा पनि खुर्सानीको खेती हुने गरेको छ ।
यहाँको ७१९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । अहिले ५९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ छ । विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।
गएको याममा गाउँपालिकामा खुर्सानी बिक्रीबाट रु छ करोड ५० लाख बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए। प्रमुख राईले भने , ‘‘हाम्रो गाउँपालिकाको निकै राम्रो आम्दानीको स्रोतका रुपमा अकबरे लिएका छौँ । गएको याममा गाउँपालिकामा रु छ करोड ५० लाख रकम खुर्सानी बिक्रीबाट भित्रिएको छ ।”
गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि भएर अहिले चार हजार पाँच रोपनी क्षेत्रमा अकबरे खुर्सानीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । खुर्सानी खेती गर्न इच्छुक कृषकलाई गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगसमेत गर्दै आएको छ ।
गाउँपालिकामा गएको याममा तीन लाख ५० हजार किलोग्रामको हाराहारीमा खुर्सानी उत्पादन भएको गाउँपालिकाको भनाइ छ । खेतीमा विस्तार भएकाले यस वर्ष उत्पादनमा अझ वृद्धि हुने गाउँपालिका शाखा प्रमुख राईले जानकारी दिए । राईले भने, “हामीले यहाँ खुर्सानीको पकेट क्षेत्र नै छुट्याएर खेतीमा लगानी गरेका छौँ । गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकमा थप उत्साह थपिएको छ । यस याममा एक हजार ५०० बढी क्षेत्रमा थप विस्तार भएको छ । विगतको याममा भन्दा यस वर्ष उत्पादनमा समेत वृद्धि हुने देखिन्छ ।”
खुर्सानी सबै खालको हावापानी भएको ठाउँ र बलौटे दोमट माटोमा उपयुक्त हुने प्राविधिकको भनाइ छ । खुर्सानीको खेती पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र तराई क्षेत्रमा हिउँदको समयमा गर्ने गरिन्छ । नेपालका प्रायःसबै भूभागमा अकबरे खुर्सानीको खेती हुने भए तापनि अकबरे खुर्सानी भोजपुरलगायत पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको यहाँका कृषि प्राविधिकको भनाइ छ ।
गाउँपालिकाभित्रका १५० जना बढी कृषकले यसको व्यावसायिक खेती गर्दै आएका छन् । आलो खुर्सानी उत्पादनको सुरुको चरणमा रु ३५० देखि ४०० सम्म र धेरै उत्पादन भएपछि रु १५० देखि २५० सम्ममा बिक्री हुने स्थानीय कृषकको भनाइ छ । किसानले उत्पादन गरेको खुर्सानी ठेकेदारले घरमा नै आएर लैजाने गरेका छन् । यहाँको खुर्सानी, धरान, विराटनगर, झापा, काठमाडौँलगायत ठाउँमा निर्यात हुने गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९ १४:०८