नुवाकोट - एक्सप्लोर ककनीको आयोजना र ककनी गापा वडा नम्बर ७ कार्यालयको संयोजनमा यहि असार १५ गते ‘भंगेरी पिप्लेखेत’ ककनीमा रोपाइँ कार्यक्रम अर्थात ‘धान दिवस’ मनाउने भएको छ ।
विगत चार वर्षदेखि मनाउदैँ आएको यस धानदिवस यस वर्षपनि निरन्तरता दिने ककनी गाउँपालिका वडा न ७ चतुराले नुवाकोटका वडा अध्यक्ष रामकृष्ण तामाङले जानकारी दिए ।
नेपाल एक कृषिप्रधान देश हो, र यस असार १५ को दिनलाई धान दिवसको रुपमा मनाउँदा संस्कृतिको जगेर्ना हुनुका साथै कृषि अन्तर्गत सबैलाई एकिकृतरुपमा जोड्ने भएकोले यस दिवस मनाउदै आएको वडाअध्यक्ष तामाङले बताए ।
यस्तै, एक्सप्लोर ककनीका आयोजक रहेका श्याम लामाले यस्ता खालका कार्यक्रम आयोजना गर्नाले स्थानीय तहको पर्यटन क्षेत्र प्रबर्द्धन हुनुकासाथै संस्कृतिको पनि जगेर्ना हुने बताए । किसानलाई पनि उत्साह थप्ने बताउदै आगामी वर्षहरुमा पनि यस किसिमका कार्यक्रम निरन्तर गाउँ र टोलमा गर्ने उनले जानकारी दिए ।
पर्यटन व्यवसायी अमर सत्यालले चतुरालेको समृद्धिका लागि कृषि सँगै आन्तरिक या बाह्य पर्यटन भित्र्याउने प्रयासमा अघि बढेको बताए ।
‘ धान दिवस किसानको पहिचान, चतुरालेको समृद्धि पर्यटन ’ भन्ने यस कार्यक्रमको मुल नारा रहेको छ । कार्यक्रममा स्थानीय किसान र गाउँलेको माझ चर्चित अभिनेता बुद्धि तामाङ ‘हैट’, वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामा र मोडल तथा अभिनेत्री सुमी मोक्ताको उपस्थिति रहने छ ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९ १६:४३