काठमाडौं - काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबीसै घण्टा ‘हटलाइन’ टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले सोमबारदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ ।
नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताइएको छ । महानगर प्रमुख बालेन्द्र शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् ।
हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिने महानगरले जनाएको छ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेस्टुरेण्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ ।
विद्यार्थीहरूलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरूमा जानकारीमूलक कार्यक्रम गर्ने कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले बताए । ‘हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूमा जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौं,’ उनले भने । बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिनसक्ने गरी प्रबन्ध मिलाइएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ ०७:५८