सिन्धुपाल्चोक- विपदबाट जोगिन सशस्त्र प्रहरी बल, नेपाल नं-१६ गण हेडक्वार्टर सिन्धुपाल्चोकले स्थानीयतहलाई तालिम प्रदान गरेको छ । मेलम्चीमा आइतबारदेखि दुई दिनसम्म सञ्चालन भएको तालिममा विपद् प्रतिकार्यमा गरिनुपर्ने योजनाबारे तालिम दिएको हो ।
तालिममा जनप्रतिनिधि, महिला र स्वयंसेवक गरी २८ जनाको सहभागिता रहेको थियो । तालिममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले विपद् प्रतिकार्यमा सबै एक भएर लाग्नुपर्ने बताए ।
विपद् आउनै नदिने र आइहाले सबै मिलेर प्रतिकार्य गर्नुपर्नेमा उनको जोड थियो । वाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापन तथा जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको संयोजनमा तालिमको आयोजना गरिएको थियो ।
स्थानीय विपद् व्यवस्थापन समिति र नेपाल स्काउट वाग्मती प्रदेश तालिमको स्थानीय संयोजक रहेका थिए । विपद् व्यवस्थापन र न्यूनीकरणमा मेलम्ची नगरपालिका क्षेत्रमा यो तालिम प्रभावकारी रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए ।
‘नेपाल आर्मीले गरेको डेमो र सशस्त्र प्रहरीले दिएको यस्तो तालिम एकदमै प्रभावकारी छ’, तामाङले भने । विपद् व्यवस्थापनको सामग्री खरिदका लागि नगरपालिकाले प्रत्येक वडामा ५० हजार बजेट पठाएको तामाङले जानकारी दिए ।
नगरमा पनि आवश्यक सामान तयारी हालतमा राखेको उनले बताए । अबको तीन महिना तयारी अवस्थामा रही जनधनको रक्षा गर्न सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
दुईदिने तालिममा सहभागीलाई नगरप्रमुख तामाङ, प्रमुख जिल्ला अधिकारी, नगर उपप्रमुख उमा प्रधानले सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरे ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ ११:२१