काठमाडौं- पोखरा महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानेटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ ।
कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गरिने महानगरले जनाएको छ । यसका लागि आगामी वर्ष डेढ करोड भन्दा बढी बजेट छुट्याइएको छ ।
उपमेयर मन्जुदेवी गुरूङले स्यानेटरी प्याडको व्यवस्थापन मिलाउन एक करोड ५३ लाख विनियोजन गरिएको जानकारी दिइन् ।
नगरभित्र रहेका सबै सामुदायिक विद्यायलका विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गराउने महानगरले जनाएको छ ।
त्यस्तै पोखरा महानगरले सन्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माणका लागि तीन करोड ४० लाख विनियोजन गरिएको छ ।
बालविकास केन्द्रका सहयोगी, विद्यालयका सहयोगी र कर्मचारीका लागि तलब दिन चार करोड ६५ लाख छुट्याइएको छ भने बालविकास केन्द्रको सवलीकरणका लागि थप एक करोड विनियोजन भएको छ ।
शिक्षिकाहरू प्रसूति विदामा रहँदा सट्टा शिक्षक व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १२:४६