डोटी - वर्षात सुरु भएका कारण जिल्लाका ९ वटै स्थानीय तहमा सडक पुर्याउने नाममा जथाभावी खनिएका सडकमा अहिले पहिरोको जोखिम बढ्न थालेको छ । केही दिनदेखि भइरहेको वर्षाले यहाँका गाउँघरका अधिकांश सडक बन्द हुन थालेका हुन् ।
डोजर अपरेटरका भरमा जथाभावी सडकको ट्रयाक खन्दा पहिरोको जोखिम बढेको स्थानीयवासीको भनाइ छ । निर्वाचनका समयमा गाउँ घरमा सडक पुर्याउने नेताले गरेका वाचा अनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरूको आरोप छ ।
गाउँ(गाउँमा सडक पुर्याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता सडकले बस्तीनै पहिराको जोखिममा परेको दिपायल सिलगढी नगरपालिका(४ का सर्वजित देउवाले बताए ।
उनले भने, ‘मनपरि खनिएका सडकले अहिले पहिरो आउन थाल्यो ।’ यहाँका ग्रामीण सडक वर्षासँगै जोखिमा पर्नुका साथै आसपासका बस्तीसमेत संकटमा परेको शिखर नगरपालिका(१ पल्लेकीका नेत्रबहादुर शाहीले बताए ।
जिल्लामा अहिले परिरहेको अविरल वर्षाका कारण यहाँका जोरायल(गड्सेरा, निरौंली, खसरे, नापानी, मौवा(मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा(धुर्कोट,राजपुर(बागनेटी, शान्तिनगर(नारीदाङ सडकमा समस्या हुँदै आएको छ ।
सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ(गाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरो आउँदा सडकमा समस्या देखिने गरेको हो ।जथाभावी खनिएका ती सडकमा पछिल्लो समय पहिरोको जोखिम बढेको केआइसिंह गाउँपालिका(५ तलिगाउँका स्थानीयवासी तथा शिक्षक चेतराज भट्टले बताए ।
उनले भने, ‘सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुगेको थियो, अहिले पहिराले सबै सडक लग्यो, नागरिकका बस्ती मात्रै जोखिम बनायो ।’ यहाँका सडकहरू बस्तीमाथि तथा गाउँ तलबाट खनिएकाले बस्ती नै पहिराको उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका(५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिए ।
प्राविधिक र वातावरणीय प्रभाव मूल्यांकन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उनले आरोप लगाए ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १४:०९