नुवाकोट - एक्सप्लोर ककनीको र ककनी गाउँपालिका कार्यालयको आयोजनामा यही असार १५ गते ‘भंगेरी पिप्लेखेत’ ककनीमा रोपाइँ कार्यक्रम अर्थात ‘१९ ओँ राष्ट्रिय धान दिवस’ मनाउने भएको छ ।
यही अवसरमा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा आवद्ध रहेकी अभिनेत्री तथा मोडल सुमी मोक्तनले पनि उपस्थिति जनाउने भएकी छन् । सुमीको लागि भने यस असार १५ अथात ‘धान दिवस’को रोपाइँ जीन्दगीको पहिलो रोपाइँ रहेको छ ।
उनी भन्छिन्, ‘जीन्दगीमा पहिलो चोटी गाउँका सबैजनासँग एकजुटभई धान रोप्ने कुराले निकै उत्साहित भएकी छु , सानोमा रोपाइँ त गरियो, तर त्यति याद छैन, मेरो लागि यो रोपाइँ विषेश हुनेछ ।’ नेपाल कृषिप्रधान देशपनि हो, यस्ता खालका कार्यक्रम आयोजना गर्नाले एकआपसमा सद्भाव बढाउन मद्दत समेत गर्ने उनले बताए ।
जीवनमा नयाँ नयाँ कुराको अनुभव लिन मन पराउने सुमी हालै मात्र (६५८४) उचाईको ‘माउन्ट चुलु इस्ट’ हिमालको सफल आरोहण गरेर फर्किएकी हुन् । उनले अफ–सिजनमा गरेको यस आरोहण इतिहासकै पहिलो आरोहण रहेको छ ।
भविष्यमा अरु ठुला हिमालको आरोहण गर्ने लक्ष्य समेत रहेको उनले बताए । एडभेन्चर मन पराउने उनी अहिले त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्गत ‘मास्टर्स इन एडभेन्चर टुरिजम’ चौथो सेमेस्टरमा अध्ययनरत रहेकी छन् ।
सुमी ‘डान्सिङ विथ द स्टार्स’को विजेता समेत हुन् ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १६:३१