काठमाडौं -अविरल वर्षाका कारण झापा, मोरङ र रूपन्देहीका केही भू(भाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका-४ बस्ने हरिदेव ताजपुरियाको कुखुरा फाराममा मंगलबार बाढी पस्दा १ हजार २ सय ब्रोईलर कुखुरा मरेका छन् ।
पानीका कारण फाराममा करिब १० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । झापाकै गौरीगंज गाउँपालिका-४ सुकुम्बासी बस्तीमा मंगलबार कृष्णखोलाबाट बाढी पस्दा १५ घर डुबानमा परेका छन् ।
ईलाका प्रहरी कार्यालय खजुरगाछिबाट खटिएको प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरि ती घर परिवारलाई सोही ठाउँस्थित राष्ट्रिय प्रावि अल्तावारीमा सुरक्षित स्थानान्तरण गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका-१ खात टोलस्थित सिङिया खोलामा मंगलबार पानीको बहाव बढ्दा खात टोलमा रहेका करिब २६ र कटहरी गाउँपालिका-१ टाईगर टोलमा रहेका करिब ६० घरमा पानी पसेको छ ।
इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले ती घर परिवारलाई सुरक्षित ठाउँमा सारेको छ । मोरङको जहदा गाउँपालिका(१ राजबंशी चोकमा रहेका करिब १४ घर र जहदा गाउँपालिका-२ हरीनगरामा रहेका करिब १०० सय घरमा मंगलबार सिङगीया खोलाको पानी छिरेको छ ।
ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले ती घरपरिवारका मानिसहरूलाई सुरक्षित ठाउँमा सारेको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ मिलनचोकस्थित राम प्रसाद घिमिरेको सिद्वार्थ भूमि इन्टरनेशनल ट्रेडिङ प्रालिको गोदाममा मंगलबार पानी पस्दा गोदाममा रहेका प्लाई, फोरमाइका, ढोका आइटम र किचन बास्केट डुबानमा परी क्षति भएको छ । क्षतिको एकिन विवरण खुल्न सकेको छैन ।
यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सुरेन्द्र पराजुलीको साझा आल्मुनियम प्रालिमा मंगलबार पानी पस्दा २ सय प्याकेट इस्क्रूप, २० प्याकेट रिबिट, २० कार्टुन डोर क्लोजर, २ सय रोल रबर, ५ सय पिस एसिटी, १ सय पिस बोर्ड र ५ सय पिस ग्लास लगायतका धनमाल डुबेर क्षति भएको छ ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ १४:०५