काठमाडौं– बलिउड अभिनेता वरुण धवन यतिखेर आफ्नो नयाँ प्रोजेक्ट ‘कुली नं. १’को सुटिङमा व्यस्त छन् । यो फिल्मको हालै पुणेमा छायाँकन गरिएको थियो । जहाँ एक स्टन्ट दृश्य सुटिङ भएको थियो । सुटिङक्रममा वरुणले निकै समस्या भोग्नुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचारमा उल्लेख गरेअनुसार उक्त जटिल स्टन्ट दृश्यमा वरुणलाई ढुंगामा अड्किरहेको कारमा क्लोजअप शट दिनुपर्ने थियो । तर, सुटिङ सकिएपछि उनी कारमै बन्द भएर अड्किएका थिए। कारको ढोका पूरै जाम भएकाले झुण्डिरहेको गाडीमा उनी फसेपछि केहीबेर स्थिति तनाव बनेको बताइएको छ ।
अभिनेता वरुण कारमा फसेपछि सेटमा खुबै खलबली मच्चिएको थियो । उनलाई बाहिर निकाल्ने कोशिश गरिएपनि कार ढुंगाको किनारतिर झुण्डिएकाले निकै मुश्किल भएको जनाइएको छ ।
अन्त्यमा एक स्टन्ट को–अर्डिनेटरले वरुणलाई निकालेका थिए । तर, वरुणलाई त्यहाँ कुनै चोटपटक लागेन । समाचारमा बताइएअनुसार उक्त दृश्यको सुटिङ हुनुअघि धेरैपटक स्टन्ट को–अर्डिनेटले अभ्यास गराएका थिए । वरुणका बुबा तथा निर्देशक डेविड धवनले सबै सुरक्षा व्यवस्था गरेका बताएका थिए । तर, कार अड्किएपछि उनले आकस्मिक तनाव झेल्नुपरेको थियो ।
डेविड धवनको निर्देशनमा बन्दै गरेको ‘कुली नं. १’ सन् १९९५ को गोविन्दा र करिश्मा कपुरको फिल्मको रिमेक हो । उक्त फिल्ममा सारा अली खानको पनि मुख्य भूमिका रहने बताइएको छ ।