पाँचथर- पहिरोले पाँचथरको फालेलुङ गाउँपालिका–७ स्थित एक घर बगाउँदा तीन जना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय रुपलाल मगरको घर र गोठ पहिरोले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् ।
रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर निस्कन सफल भएका छन् । प्रहरीका अनुसार शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको हो ।
पहिरो गएको ठाउँबाट पाँच सय मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । बिहानसम्म खोज तलास गर्दा पनि बेपत्ता भएका व्यक्तिहरु फेला नपरेको प्रनाउ थापाले बताए ।
प्रकाशित मिति: शनिबार, असार १८, २०७९ १०:३८