बागलुङ- बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ । पालिकाले १६ बालबालिकाका लागि बालगृहमा राखेर शिक्षा दिन थालेको हो ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो कार्यकालको पदभार ग्रहण गर्ने बेलामै पालिकामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एमबीबीएस पढाउने र अभिभावक नभएका बेसहारा तथा अनाथ बालबालिकाको लालनपालन र माध्यमिक शिक्षाको ग्यारेन्टी गर्ने गरी बालगृह सञ्चालन गर्ने योजना एक महिनामै कार्यान्वयनमा ल्याएको हो ।
दुर्गम मानिने तमानखोला गाउँपालिका–३ तमान गाउँमा पालिकाले बालगृह सञ्चालन गर्न थालेको छ । अभिभावक गुमाएका, शिक्षाबाट वञ्चित भएका र पालनपोषणको अभावमा विद्यालय आउन नसकेका बालबालिकालाई पालिकाले बालगृहमा राखेर अध्ययन गराउन बालगृह सञ्चालनमा ल्याएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।
उनीहरुले नजिकको सामुदायिक विद्यालयमा अध्ययन गर्ने छन् । कक्षा १२ सम्म पालिका र बालगृह सञ्चालन समितिले निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन गर्ने भएको छ ।
प्रत्येक महिना कम्तीमा दुई पटक उनीहरुको स्वास्थ्य परीक्षण गरिने, अध्ययनलाई राम्रो बनाउन पालिका र समितिले हेरचाह गर्ने गरी कार्यक्रम अगाडि बढाइएको अध्यक्ष बुढामगरले बताए ।
गाउँपालिकाको रु दुई लाख अनुदानसहित थालनी गरिएको बालगृह कोषमा शिक्षाप्रेमीबाट रु आठ लाख गरी १० लाख जम्मा भइसकेको छ । यस्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत जनप्रतिनिधिले समेत आफूले पाउने पारिश्रमिको पाँच प्रतिशत रकम आफ्नो कार्यकाल अवधिभर बालगृहलाई दिने गरी अभियान चलाएका छन् ।
प्रकाशित मिति: शनिबार, असार १८, २०७९ १०:५८