काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा बताएका छन् ।
जिपी कोइराला मेमोरियल कलेजले स्व नेता गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना कार्यक्रममा उनले आदर्शका प्रतिक गिरिजाबाबुको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका हुन् ।
‘विभिन्न नेताहरूको नाममा विश्वविद्यालय स्थापना भएका छन्, शान्ति प्रक्रियाका नायक गिरिजाबाबुको नाममा पनि जिपी कोइराला विश्वविद्यालय स्थापना हुनुपर्छ’, मन्त्री बडूले भने, ‘जिपी कोइराला विश्वविद्यालय निर्माणका लागि सरकार सहयोग गर्न तयार छ ।’
सोही अवसरमा ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना गरी सोही कोषबाट गिरिजाप्रसाद कोइराला शान्ति पुरस्कार वितरण गरिने जानकारी दिइएको थियो । कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विधाका पुरस्कारसमेत प्रदान गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, असार १८, २०७९ १४:०३