पछिल्लो समय चट्याङबाट मानवीय तथा अन्य क्ष्ँति भएका खबर आइरहेका छन् । मनसुन सक्रिय भएसँगै चट्याङका घटना बढ्न थालेका छन् । विशेषगरी मनसुन र प्रि–मनसुनको समयमा बढी मात्रामा चट्याङ पर्छ । के सहर, के बजार, के गाउँ, के तराई, के पहाड सबैतिर चट्याङ पर्ने गरेको छ ।
विशेषगरी आकाशमा कालो बादल मडारिन थालेपछि चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यतिबेला नेपालमा मनसुन सक्रिय छ । यस्तो बेला चट्याङ पर्ने सम्भावना अझै बढी छ ।विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर कुन स्थानमा चट्याङ पर्छ भन्नेबारेमा पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागले प्रयास गरे पनि त्यसमा हालसम्म कुनै सफलता हासिल हुन सकेको छैन ।
विपरीत स्थानबाट आएका बादल एकापसमा घर्षण हुँदा त्यसबाट विद्युतीय शक्ति पैदा हुन्छ । त्यसबाट प्रकाश र आवाज दुवै उत्पन्न हुन जान्छ । त्यसलाई बुझिने भाषामा चट्याङ भनिन्छ ।पछिल्लो विवरणअनुसार जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको भेडागोठमा चट्याङ पर्दा ८० वटा भेडा मारिए । ३०० भेडा हराइरहेका छन् ।
बाराको कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबरिया बस्ने २८ वर्षीय एक महिला घरको बरण्डामा बसिरहेको बेला अचानक चट्याङ लागेर घाइते भइन् । बैतडीको दोगडाकेदार गाउँपालिका–३ जडियाखानको एक गोठमा चट्याङ पर्दा एक भैँसीको मृत्यु भयो ।
गत वैशाख १ गतेदेखि असार १७ गतेसम्म देशभर ९८ वटा चट्याङका घटनामा परी ३८ जनाको ज्यान गयो भने ६१ जना घाइते भएका छन् । त्यसबाट १२५ परिवार प्रभावित भएका छन् भने १६ लाख ९८ हजार बराबरको अनुमानित क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा छ ।
गत वैशाख १ गतेदेखि शुक्रबारसम्मको विवरणअनुसार विपद्का घटनामात्रै ९३७ वटा भएको छ । त्यसबाट कूल ९८ जनाको ज्यान गएको छ भने २१३ जना घाइते भएका छन् । ती घटनाबाट कूल ६५ करोड १४ लाख ९८ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ ।
२०६९ देखि २०७८ सम्म चट्याङबाट ९५२ जनाको ज्यान गएको सरकारी तथ्यांक छ । यस वर्षमात्रै ३८ जनाको ज्यान गएको छ । त्यो विवरणसमेत जोड्दा ९९० हुन जान्छ । २०६९ मा १९६ वटा घटना भएको थियो र ज्यान जानेको संख्या १३१ थियो । यस्तै, २०७८ मा २०३ वटा घटना भए र ५६ जनाको ज्यान गयो ।
चट्याङबाट हुने मानवीय क्षति पहिरोबाट भन्दा पनि बढी छ । पछिल्लो १० वर्षको विवरण हेर्ने हो भने दुई हजार २३९ वटा चट्याङका घटना भए । त्यसबाट सबैभन्दा बढी प्रभावित हुने जिल्लामा मकवानपुर शीर्षस्थानमा छ ।
चट्याङबाट जोगिन घरभित्रै बस्ने गर्नुपर्छ । खुला स्थान वा ठूला रुख वा संरचनाको मुनि सकेसम्म बस्नु हुँदैन । चट्याङ पर्ने खतरा बढेका बेला घरभित्रै भए विद्युतीय उपकरण बन्द गर्नुपर्छ । खुला स्थान वा अग्ला डाँडामा चट्याङको जोखिम बढी हुन्छ । त्यस्ता स्थानमा सकेसम्म जानु हुँदैन ।
बादलमा जम्मा भएको विद्युतीय शक्ति आकाशबाट पृथ्वीतिर आउनेक्रममा जुन वस्तु नजिक पर्छ, त्यही वस्तुमा चट्याङले हान्ने हुँदा टावर, अग्ला रुख, अग्ला संरचनामा चट्याङ पर्ने सम्भावना बढी हुन्छ । तसर्थ, चट्याङबाट आफू पनि जोगिऔं, अरुलाई पनि जोगाउन पहल गरौं ।