पछिल्लो समय मुलुकमा अपराधहरूका घटनाहरू अचानक बढ्न थालेको छ । सरकारी एक प्रतिवेदनलाई मान्ने हो भने अहिले अपराधीहरू राख्ने कारागारको अभाव हुन थालेको छ । मुलुकले विद्यालयको संख्या थप्ने बेलामा अपराधीहरू राख्ने कारागार बनाउनमा बढी खर्च गर्नु परेको छ । त्यसमाथि अपराधीहरूलाई राज्यले पाल्नका लागि अर्बौँ रूपैयाँ खर्च गर्नु परेको छ । जनताले छाक काटेर तिरेको करलाई अपराधीहरूलाई ज्वाँसमान मेजमान खुवाउनु परेको छ । जनताले कति जनालाई पाल्ने ? अपराधीहरूदेखि राज्य सञ्चालनमा भाग लिनेहरूलाई पनि जनताले नै पाल्नु परेको छ । अपराध गर्नेहरूलाई राज्यले उत्पादनको काममा अनिवार्य रूपमा सामेल गराउने हो भने मुलुक आफैँ समृद्ध हुन्छ । उनीहरूलाई कारागारमा ज्वाइँ मानेर पाल्ने होइन, उनीहरूलाई उनीहरूको क्षमताअनुसार उत्पादनका भाग लिनका लागि अनिवार्य गराउनु पर्छ ।
अपराध गरेपछि उनीहरूलाई श्रमसहितको कारागारमा राख्नुपर्छ । अपराध गरेपछि खसी पोसेजस्तो पोस्दा अपराधीहरूको संख्या बढेको हो । त्यसमाथि कारागारमा गुन्डागर्दीले आकास छोएको छ । यस्तो अवस्थामा पनि सरकार मौन छ । कारागारका भाइ नाइकेहरूको ज्यादती उस्तै छ, सानातिनालाई पेल्ने र ठूलालाई भने चैन गराउने हो भने कारागारको अवश्यक छैन । कारागार भन्नेबित्तिकै सुधार गृह हो तर नेपालका कारागारहरू भने अपराधको जालो बुन्ने थलोको रूपमा विकास हुन थालेको छ । यसका लागि सरकारले नै जनचेतनाका कार्यक्रम ल्याउनु पर्छ । अपराधविरुद्ध सरकारले जनचेतनका कार्यक्रम ल्याउने हो भने अपराध घट्छ, जसको फल यता कारागारमा देखिन्छ । अपराधीहरूको संख्या घटाउनेतिर सरकार लाग्नुुपर्छ । कारागार बनाउनेतर्फ भन्दा पनि सरकारले अपराध न्यूनीकरण गर्नेतर्फ लाग्नु उपयुक्त हुन्छ ।
समाजमा अपराध बढ्नु भनेको मुलुकमा सुरक्षा व्यवस्था कडा छैन भन्ने हो । केही दिनयता अपराधका शृंखलाहरू बढ्न थालेको छ । समाजमा कुटपिट, झैझगडा, बैंक चोरीका घटनाहरूको ग्राफ बढेको छ । यस्तो अवस्थामा राज्यले अपराध घटाउनका लागि तदारुकता देखाउनुपर्छ । अपराधीहरू राख्नका लागि होइन, सरकारले कारागारको सट्टा जनचेतनाका कार्यक्रम अगाडि ल्याउनु उचित हुन्छ । अपराधको संख्या घटाउने हो भने मुलुक आफैँ शान्त हुन्छ । अरुको बैंक खाताबाट रकम निकाल्ने, चोरी, डकैतीमा सहभागी हुनेको संख्या बढ्नु शुभ समाचार हुनै सक्दैन । यस्तो कार्य गर्न के बाट प्रेरित भए ? यसको भित्री अनुसन्धान गरेर यस्तो अपराध हुन नदिनका लागि सरकारले अरु उपाय अपनाउनुपर्छ । अपराधीहरूलाई हदैसम्मको सजाय त्यो पनि श्रमसहितको हुनुपर्छ । अपराध गरेर खसीजस्तै पाल्ने होइन, गोरुजस्तै गरी काममा खटाउने हो भने अपराध घट्न सक्छ वा यससम्बन्धि विज्ञहरूस“ग बसेर यसको निराकरणको बाटो पहिल्याउनु पर्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६ ०६:४५