लमजुङ - लमजुङमा बाढीपहिरोले २१ घर उच्च जोखिममा परेको छ । क्व्होलासोंथर गाउँपालिका(६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेका हुन् ।
वडाध्यक्ष मनलाल गुरुङले भने, ‘१५ गते ठूलो वर्षापछि पहिरो गएको थियो, सो पश्चात् पटक पटक थप पहिरो जाँदा बस्ती नजिकै आइपुग्दा घरहरू जोखिममा परेको छ ।’
वडा कार्यालयका अनुसार भिरालो जमिनमा बस्ती रहेकाले झन् बढी जोखिम रहेको छ । निर्माणाधीन ग्राभेल सडक बगैंचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका गह्राहरू सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरा जाने सक्ने सम्भावना भएको वडाध्यक्षले बताए ।
पहिरोले बस्ती जोखिम बनाएका बारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ ।
यहाँ दैनिक जसो पानी परिरहँदा स्थानीयहरू भने त्रसित हुने गरेका छन् । उक्त घरका १५० भन्दा बढी स्थानीय पहिराको चिन्तामा छन् ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १५:५६