काठमाडौं- इन्धनको मूल्यवृद्धिपछि हवाई भाडा बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ ।
भाडा बढेसँगै काठमाडौंबाट धनगढी पुग्न अब अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ । यस रुटमा १७० रुपैयाँ बढेको छ ।
काठमाडौंबाट सिमराका लागि सबैभन्दा कम दुरीकाे ४५ रुपैयाँ बढेको छ । यस रुटमा अब अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १८:१६