काठमाडाैं - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले सीपीएल र एलपीएल खेल्ने भएका छन् ।क्यारेबियन प्रिमियर लिग (सीपीएल) र लङ्का प्रिमियर लिग (एलपीएल)मा नेपाली राष्ट्रिय क्रिकेट टिमका क्रिकेटर कप्तान सन्दीप लामिछानेले खेल्ने भएका हुन् ।
पछिल्ला दुई दिनमा दुई विदेशी फ्रेन्चाई लिगमा आबद्ध भएका छन् । जमैकाले बुधबार सन्दीपलाई आफ्नो टिममा भित्र्याएको खुलासा गरेको हो ।
यस सत्रको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीपले जमैका तालाबाजको जर्सीमा खेल्ने भएका छन् । एक दिनअघि श्रीलङ्कामा जुलाई अन्तिममा आयोजना हुने लङ्का प्रिमियर लिग (एलपीएल)मा खेल्न दाम्बुला जायन्ट्सले सन्दीपलाई आफ्नो टिममा भित्र्याएको थियो ।
सन्दीप विश्वकै व्यावसायिक टी–२० क्रिकेट लिगमा भारत, पाकिस्तान, अस्ट्रेलिया, क्यानडा, हङकङ, यूएई र वेस्ट इन्डिजको व्यावसायिक फ्रेन्चाई लिगमा नियमित रूपमा खेल्ने र रुचाइएका क्रिकेटर हुन्। यसैबीच उनको नाम श्रीलङ्काली फ्रेन्चाई क्रिकेट लिगमा खेल्ने खेलाडीका रूपमा पनि जोडिएको छ ।
सन्दीपले सन् २०२० मा भएको सीपीएल टी–२० पनि जमैकाबाट खेल्नुभएको थियो । सन्दीपले पछिल्लो संस्करणमा भने सहभागिता जनाउनुभएन जमैका तालावाजले सन्दीपसहित पाकिस्तानका तेज बलर मोहम्मद आमिर, स्पिनर इमाद वासिम, अस्ट्रेलियाका क्रिस ग्रिन र मिगेल प्रेस्टोरियसलाई विदेशी खेलाडीका रूपमा आफ्नो टिममा आबद्ध गरेको छ । सीपीएलको दसौँ संस्करण सेन्ट किट्स एन्ड नेभिसमा अगस्ट ३० देखि सेप्टेम्बर ३० तारिखसम्म हुनेछ ।
सन्दीप श्रीलङ्कामा लङ्का प्रिमियर लिग खेलेपछि सीपीएल खेल्न वेस्ट इन्डिज जाने बताइएको छ । सीपीएलमा सन्दीप र जमैकाबीचको करार रकम भने खुलाइएको छैन । सन् २०२० मा जमैकाले सन्दीपलाई ९० हजार डलर तिरेको थियो ।
सन्दीपले सीपीएल खेल्नुअघि जुलाई ३१ देखि अगस्ट २१ सम्म लङ्का प्रिमियर लिगमा प्रतिस्पर्धामा हुनेछ । लङ्का प्रिमियर लिगमा दाम्बुलाले सन्दीपलाई ड्राफ्टमा ४० हजार अमेरिकी डलर तिरेको हो । सन्दीप अन्तर्राष्ट्रिय डायमन्ड क्याटेगरीमा ड्राफ्टमा समावेश हुन् । सन्दीपको टिम दाम्बुला जायन्ट्समा अस्ट्रेलियाका डार्सी सर्ट, भानुका राजपक्ष, दासुन सानका, टिम सिफर्ट, हैदर अली, सेल्डन कट्रेलजस्ता क्रिकेटर पनि हुन् ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ ०८:५७