काठमाडौं- साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस आज बिहीबारदेखि काठमाडौंंमा चल्न थालेको छ ।
पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो ।
बिहीबार बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेको हो ।
साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बसहरुको सेवाको औपचारिक शुभारम्भ गरे ।
यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा यी बस तयार भएका हुन् ।
अब बाँकी ३७ वटा पनि आउने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिएका छन् । उनका अनुसार सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएकाले यी बसले काठमाडौंमा भरपर्दो सेवा दिने विश्वास व्यक्त गरे ।