वीरगञ्ज- वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौं रकम ठग्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नगदसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका(३ घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेको प्रहरीले जनाएको छ ।
कानुले विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारमा निःशुल्क टिकट र भिसामा विदेश पठाइदिन्छु भन्दै प्रलोभन देखाएर २५ हजारदेखि २ लाखसम्म रकम ठगेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कानुको डेराबाट नेपाली ३ लाख र भारतीय रूपैयाँ १ लाख ४८ हजार नगद तथा आइएमईका कागजातसहित नियन्त्रणमा लिई ठगीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ ।
कानुले रकम हात पार्न आफ्नो नागरिकता प्रयोग नगरी अन्य व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरेर आइएमईमार्फत रकम झिकेको उजुरीका आधारमा डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १३:५५