काठमाडौं – चर्चित कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण गरेका छन् ।
केही समयअघि चौधरीले रु. १ लाख रुपैयाँ राशिको ‘नई इश्वरबल्लभ अवार्ड’ पाएका थिए । आफूले पाएको सो अवार्ड ईश्वरबल्लभको परिवारकै लागि समर्पण गरेका हुन् ।
थापाथलीस्थित स्वर्गीय कवि ईश्वर बल्लभको निवासमा पुगेर साहित्यकार चौधरीले बल्लभ परिवारजनलाई आफूले पाएको पुरस्कार राशिमा त्यति नै रकम थपेर प्रदान गरेका हुन् । चौधरीले ईश्वर बल्लभकी पत्नी कमला भट्टराईलाई भेटेर रु. २ लाखको चेक प्रदान गरेका थिए ।
चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उनको नाममा नई प्रकाशनले पुरस्कार स्थापना गरी वितरण गर्न थालेको थियो । नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो ।
नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईको समेत उपस्थितिमा चौधरी स्व. ईश्वर बल्लभकै घर पुगेर आफूले पाएको पुरस्कार राशिमा थपेर कवि परिवारलाई सहयोग प्रदान गरेका थिए ।
सो क्रममा स्व. कवि ईश्वर बल्लभले नेपाली कविता तथा साहित्यिक पत्रकारितामा पुर्याउनुभएको योगदानको समेत चर्चा गरिएको थियो ।
स्व. कविकी पत्नी कमला भट्टराईले बसन्त चौधरीको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १५:५३