काठमाडौं- नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति र १५६ सदस्यीय पोलिटब्युरो बनाउने भएको छ । जसअनुसार स्थायी समितिमा रहने १५ जना नेताहरूको नाम टुंगो लागेको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले स्थायी समिति र पोलिटब्युरोको सदस्य संख्या घोषणा गरेका हुन् । पदाधिकारी चयन गर्ने भनिएको बैठक त्यसबारे भने कुनै निर्णय नगरेर सकिएको छ ।
४१ सदस्यीय स्थायी समिति गठन गर्ने निर्णय गरिए पनि अध्यक्ष दाहालले तत्कालीन नेकपाकालीन स्थायी कमिटीमा रहेका १५ जनाबाहेक अरुको नाम भने बैठकमा प्रस्तुत गरेनन् । उनले सबै पक्ष समेटेर चाँडै ४१ जनाको नाम सार्वजनिक गर्ने बताए ।
स्थायी समितिमा परेका १५ जनामध्ये दाहालसहित नारायणणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश साह, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेल छन् ।
दाहालले सुरुमा पोलिटब्युरो १२५ सदस्यीय हुने बताएका थिए । तर, पोलिटब्युरोमा रहनेहरूको नामावली उनले दुईपटक पढ्दा पनि गोलमाल भएको थियो । त्यसपछि बैठक एक घण्टाका लागि स्थगित गर्नुपरेको थियो ।
त्यसपछिको बैठकमा दाहालले १५० जना बढीको नाम पढेका थिए । पोलिटब्युरोको संख्याभन्दा नाम धेरै भएको कुरा उठेपछि उनले बाँकीलाई वैकल्पिक पोलिटब्युरो सदस्य बनाउने बताए ।
पदाधिकारी टुंग्याउने जिम्मा स्थायी समितिलाई
माओवादी केन्द्रको पदाधिकारी बिहीबारको केन्द्रीय समिति बैठकले टुंग्याउने बताएको थियो । तर, बैठकले पार्टी पदाधिकारी टुंग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ ।
बिहीबार सम्पन्न माओवादी केन्द्रीय बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो । बैठक आइतबारदेखि सुरु भएको थियो ।
बैठकले नयाँ केन्द्रीय समिति सदस्यको शपथ ग्रहण, नयाँ संरचनात्मक आधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ । यस्तै स्थानीय निर्वाचनको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी कार्ययोजना निर्माण गरेको जानकारी दिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ ०८:०४