प्रभाव संवाददाता
काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल बलियो प्रतिद्वन्द्वी मानिएको भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहीबार साँझ सम्पन्न खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएको हो ।
पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको नेपालले दोस्रो खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको छ । पहिलो सेटमा प्रतिस्पर्धात्मक खेल खेलेको नेपालले दोस्रो र तेस्रो सेटमा भने फितलो प्रदर्शन गरेको थियो । पटकपटक अग्रता बनाएर पनि अन्तिममा सम्हालिन नसक्दा नेपालले पहिलो सेट २६–२४ ले गुमाउन पुगेको पुगेको थियो ।
बंगलादेशविरुद्ध उत्कृष्ट खेल पस्किएको नेपालले भारतविरुद्ध सधैं दबाबमा खेल्ने गर्दछ । पहिलोपटक भारतविरुद्ध जित हात पार्ने मनोबलसहित मैदानमा उत्रिएको नेपालले भारतविरुद्ध टिमअनुकूल नतिजा निकाल्न सकेन ।
पहिलो सेटमा जित हात पारेपछि दोस्रो र तेस्रो सेटमा भारत नेपाल विरुद्ध हाबी भएको थियो । दोस्रो सेटमा नेपाल २५–१२ ले पराजित भएको थियो भने तेस्रो सेटमा २५–१६ ले गुमाउन पुगेको थियो ।
यसअघि प्रतियोगिताको बुधबार भएको पहिलो खेलमा नेपाली महिला भलिबल टोलीले बंगलादेशलाई सोझो सेटमा हराएको थियो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई पहिलो सेट २५–९ र दोस्रो सेट २५–९ ले जितेको थियो । त्यस्तै तेस्रो सेटमा भने २५–११ ले जित हात पारेको हो । भलिबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । समूह ‘ए’ मा नेपालसँगै भारत र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् । पुरुष भलिबल टोलीले भने शुक्रवार भारतको सामना गर्नेछ ।
त्यस्तै बुधबार राति सम्पन्न पुरुष भलिबल खेलमा पनि नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । पहिलो सेट जितेको नेपालले दोस्रो सेट गुमाउन पुगेको थियो । त्यसपछि तेस्रो सेटमा उत्कृष्ट पुनरावलोकन गर्दै खेल जितेको नेपालले चौथो र पाचौँ सेट लगातार गुमाएपछि बंगलादेशस“ग पनि हार ब्यहोरेको थियो । सागको औपचारिक उद्घाटन मंसिर १५ गते भए पनि भलिबलका खेल त्यसअघि नै शुरु गरिएको हो ।