काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । विधेयक फिर्ता लिने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेको उनले जानकारी दिए ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयक आज–भोलि नै फिर्ता हुने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य। अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखी अहिलेको सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ ।