काठमाडौं- गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न सम्मान’ महावीर पुनलाई प्रदान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज पोखरामा आयोजित एक कार्यक्रममा पुनलाई उक्त सम्मान गरेको हो । प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई सम्मान गर्ने घोषणा गत फागुन ४ मा गरिएको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पुर्याएको भन्दैँ प्रशंसा गरे। शिक्षण पेसामा आवद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमासमेत यसले निरन्तरता पाउने उनले विश्वास व्यक्त गरे। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए ।
राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले रु १० करोड विनियोजन गरेको उनले जानकारी दिए। समृद्धिका लागि अनुसन्धानको विशेष महत्व रहेको उल्लेख गर्दै उनले छिट्टै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने बताए ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १४:५७